काठमाडौं । अमेरिका–इरान तनाव चर्किँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। बिहीबार एसियाली व्यापारमा ब्रेन्ट क्रुडको मूल्य १०१.२८ डलर पुगेको हो।
इरानको रिभोलुसनरी गार्ड्सले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका अमेरिकी जहाज, तेल ट्याङ्करलगायत दर्जनभन्दा बढी जहाजमाथि आक्रमण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानले हर्मुजसँगै ओमानको खाडी र अरब सागरका केही क्षेत्रमा ‘नो–गो जोन’ विस्तार गर्दै समन्वयबिना प्रवेश गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा अमेरिका विजयी भएपछि तेलको मूल्य घट्ने दाबी गर्दै हर्मुज जलडमरूमध्यलाई अमेरिकाले नियन्त्रणमा लिने बताएका छन्। अर्कोतर्फ, इरानले अमेरिकी सैन्य कारबाहीको प्रतिरोध गर्दै क्षेत्रीय तनाव बढेको जनाएको छ।
इरानले लेबनानबाट इजरायली सेना फिर्ता, यमनमाथिको नाकाबन्दी अन्त्य, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा तथा आफ्नो आणविक र मिसाइल क्षमतामा हस्तक्षेप नगर्नेलगायत सर्त पूरा भए युद्ध अन्त्य गर्न सकिने बताएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्डले इरानमाथि दबाब बढाउने प्रस्ताव पारित गरेको छ। इरानले भने उक्त निर्णय अमेरिकी दबाबमा गरिएको र त्यसको कुनै कानुनी आधार नरहेको दाबी गरेको छ।

प्रतिक्रिया