काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’मार्फत आवश्यकता मूल्याङ्कन सर्वेक्षण गरिरहेको हो। सर्वेक्षणबाट प्रभावित परिवारको विवरण, घरको क्षतिको अवस्था, दिवङ्गत तथा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको विकल्प तथा खानेपानी र सरसफाइसम्बन्धी आवश्यकताबारे जानकारी सङ्कलन गरिनेछ।
सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार होल्डिङ सेन्टरमा रहेका परिवारको आवश्यकता पहिचान गरी केही हप्ताभित्रै छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो।
हाल होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण एक हप्ताभित्र सम्पन्न गर्ने तयारी छ। त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही फारममार्फत आवश्यकता मूल्याङ्कन गरिने जनाइएको छ।

प्रतिक्रिया