निर्माण लागत पाँच वर्षयताकै उच्च दरमा बढ्यो


काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमासमा निर्माण क्षेत्रको लागतमा उल्लेख्य वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्माण क्षेत्रको समग्र इनपुट मूल्य सूचकांक ३.८६ प्रतिशतले बढेको हो। यो पछिल्लो पाँच वर्षको चौथो त्रैमासिकमध्ये सबैभन्दा उच्च वार्षिक वृद्धि हो।

चौथो त्रैमासमा मात्रै निर्माण क्षेत्रको इनपुट मूल्य सूचकांक १.७८ प्रतिशतले बढेर १६०.४ अंक पुगेको छ। निर्माण सामग्रीतर्फ विद्युतीय तारको मूल्य एक वर्षमा ३४.३६ प्रतिशत र इँटाको मूल्य १७.९४ प्रतिशतले बढेको छ।

यस्तै, बिटुमिनको मूल्य ११.४३ प्रतिशत, जीआई पाइप तथा फिटिङको ७ प्रतिशत र पोलिथिन पाइप तथा फिटिङको ५.८६ प्रतिशत बढेको छ। ढुंगा, इँटा तथा कंक्रिट समूहको मूल्य ९.७९ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।

तर सिमेन्टको मूल्य ०.४३ प्रतिशत, फलामे छड तथा बिलेटको २.१९ प्रतिशत र काठको ६.४९ प्रतिशत घटेको छ। गाबियन वायर र ह्युम पाइपको मूल्यमा पनि क्रमशः ३ प्रतिशत र १२ प्रतिशत गिरावट आएको छ।

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको ज्याला वार्षिक रूपमा २.९२ प्रतिशत बढेको छ। चौथो त्रैमासमा भने निर्माण सामग्रीको मूल्य ४.०५ प्रतिशत र श्रमिकको ज्याला ३.५५ प्रतिशतले बढेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार अन्तर्राष्ट्रिय इन्धन मूल्य, विनिमय दर र ढुवानी लागतले निर्माण सामग्रीको मूल्यमा दबाब दिएको हो। साथै, विश्व बजारमा तामाको मूल्य बढ्दा नेपालमा विद्युतीय तारको मूल्यसमेत बढेको कार्यालयको विश्लेषण छ।

आर्थिक वर्ष २०८३र८४ मा पनि तामाको मूल्य, इन्धनको मूल्य र विनिमय दर निर्माण लागतका प्रमुख बाह्य जोखिम रहने कार्यालयले जनाएको छ। मनसुनपछि निर्माण गतिविधि बढ्दा इँटा, गिट्टी र बालुवाको मूल्यमा थप चाप पर्न सक्ने आकलन गरिएको छ।

समग्र आर्थिक वर्ष २०८२र८३ मा भने निर्माण क्षेत्रको इनपुट मूल्य सूचकांक औसत १.९४ प्रतिशतले बढेको छ। निर्माण सामग्रीको औसत मूल्य १.३४ प्रतिशत र श्रमिकको ज्याला २.९२ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ। तथ्यांक प्रारम्भिक भएकाले आगामी प्रकाशनमा संशोधन हुन सक्ने कार्यालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार