काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा अन्य विपद्का कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ६७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी हालसम्म उक्त संख्यामा शव फेला परेका हुन्।
सबैभन्दा बढी चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७ र रसुवामा १७४ शव फेला परेका छन्। हालसम्म १०२ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
बाढी तथा विपद्का कारण करिब ५ हजार १ सय ३२ जना अझै सम्पर्कविहीन छन्। रसुवाबाट २ हजार ८६० र नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार १८५ सुरक्षाकर्मी परिचालन भएका छन्। विभिन्न ३७ होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन्।

प्रतिक्रिया