सिरहामा १५ लाख बढीको अवैध सामान बरामद


सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले विभिन्न सीमा क्षेत्रबाट रु. १५ लाख ५६ हजार ५ सय ७५ बराबरको अवैध सामान बरामद गरेको छ।

एसपी सुमनजंग थापाको नेतृत्वमा भदौ २२ गते गरिएको निगरानी, गस्ती तथा चेकजाँचका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, बीउबिजन, कस्मेटिक सामग्री, पेय पदार्थ, मदिरा तथा इन्धन बरामद गरिएको हो।

त्यस्तै, सीसी क्यामेरा, मनिटर, हार्डड्राइभ, कीटनाशक विषादी र पानी तान्ने मोटरलगायतका सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको छ। सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी, गस्ती र चेकजाँचलाई थप कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार