काठमाडौं । निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धि र आयोजनाको भुक्तानीमा हुने ढिलाइले निर्माण व्यवसायी आर्थिक समस्यामा परेको व्यवसायीहरुले बताएका छन्।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औं साधारणसभा तथा ११औं अधिवेशनमा व्यवसायीहरुले सिमेन्ट, छड, गिट्टी, बालुवा, इन्धन, ढुवानी तथा श्रमिकको ज्यालालगायतको लागत बढेकाले पुरानै दररेटमा आयोजना सम्पन्न गर्न कठिन भएको बताएका हुन्। उनीहरुले ठेक्का सम्झौताको मूल्यअनुसार निर्माण सम्पन्न गर्न नसकिने अवस्था रहेकाले प्रभावकारी मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय नीतिगत उपमहासचिव मंगलबहादुर शाहीले संघीय तहका आयोजनामा तुलनात्मक रुपमा समस्या कम भए पनि प्रदेश र स्थानीय तहका आयोजनामा भुक्तानी तथा मूल्य समायोजनको समस्या कायमै रहेको बताए। उनले प्रदेश तथा स्थानीय तहले पनि निर्माण व्यवसायीका समस्या सम्बोधन हुने गरी स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिए।
संघका अध्यक्ष प्रकाश थुलुङले समयमा भुक्तानी नहुँदा बैंकको ब्याज, श्रमिकको पारिश्रमिक र निर्माण सामग्रीको रकम व्यवस्थापन गर्न कठिन भइरहेको बताए। उनले बजेट सुनिश्चित गरेर मात्र ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने माग गरे।
यसैबीच, कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। उनका अनुसार कोशी प्रदेशमा निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाको करिब ५३ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। बाँकी रकम भुक्तानीका लागि प्रदेश मन्त्रिपरिषद्मा छलफल गरी प्रक्रिया अघि बढाउने उनले प्रतिबद्धता जनाए।
संघको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनमा निर्माण व्यवसायीका समस्या, भुक्तानी, मूल्य समायोजन र ठेक्का प्रक्रियालगायत विषयमा छलफल भइरहेको छ।




प्रतिक्रिया