काठमाडौं। बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि १४ वाणिज्य बैंक र चार विकास बैंकले हालसम्म ४३ करोड ४३ लाख रुपैयाँ सहयोग गरेका छन्।
सहयोगमध्ये वाणिज्य बैंकहरूले ४१ करोड ३३ लाख रुपैयाँ र विकास बैंकहरूले २ करोड १० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराएका हुन्।
वाणिज्य बैंकतर्फ ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ५ करोड रुपैयाँ सहयोग गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख, एनएमबि बैंकले ३ करोड ५१ लाख, नेपाल बैंकले ३ करोड १० लाख नगदसहित ९ लाख रुपैयाँ बराबरको राहत सामग्री र कुमारी बैंकले ३ करोड रुपैयाँसहित राहत सामग्री उपलब्ध गराएका छन्।
यस्तै, प्राइम कमर्सियल र हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँका दरले तथा राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ सहयोग गरेका छन्।
विकास बैंकतर्फ सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख र कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्। कामना सेवा विकास बैंकको सहयोगमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख र कर्मचारीको एक दिनको तलबबाट १५ लाख रुपैयाँ समावेश छ।
यसैबीच, लक्ष्मी सनराइज, स्टाण्डर्ड चार्टर्ड, कृषि विकास र नेपाल एसबिआई लगायत केही बैंकले भने हालसम्म सहयोग घोषणा गरेका छैनन्।



