काठमाडौँ । रसुवा बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार तथा खोजीका लागि मन्त्रालयले आकस्मिक कक्ष सञ्चालन गर्दै सम्बन्धित कूटनीतिक नियोग र परिवारसँग समन्वय गरिरहेको छ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली नेपाली सेनाको समन्वयमा परिचालन भएका छन्। भारतीय टोली लाङटाङ र चिलिमे, चिनियाँ टोली माथिल्लो त्रिशूली–३ ‘ए’ तथा दक्षिण कोरियाली टोली माथिल्लो त्रिशूली–१ क्षेत्रमा खटिएका छन्।
भारत र सिंगापुरका फोरेन्सिक तथा डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन टोलीले शव पहिचान र डीएनए परीक्षणमा सहयोग गरिरहेका छन्। अमेरिकाबाट पनि १३ विशेषज्ञसहितको टोली उद्धार कार्यमा संलग्न रहेको मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म एक हजार ११४ शव बरामद भएका छन् भने करिब तीन हजार ९०० जना अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रबाट ३०० भन्दा बढी विदेशी नागरिकसहित ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।
यसैबीच, मानसरोवर–कैलाश यात्राका क्रममा सीमा क्षेत्रमा अड्किएका करिब तीन हजार यात्रुमध्ये दुई हजार ५०० जना नेपाल फर्किसकेका छन्। केरुङमा रहेका करिब एक हजार ५०० नेपाली र १७६ कन्टेनरलाई सुरक्षित फर्काउन पनि चिनियाँ पक्षसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
शवको पहिचानमा कठिनाइ भएपछि फोरेन्सिक प्रक्रिया पूरा गरी अस्थायी दाहसंस्कार सुरु गरिएको छ। सरकारले उद्धार तथा पुनर्निर्माणका लागि बेलिब्रिज, फ्रिजर, डीएनए किट र उच्च क्षमताका ड्रोन उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ।


