काठमाडौँ । पृथ्वीराजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य थालेको छ।
धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि कर्पोरेशनको जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था आएपछि मनोज र बाबा ग्यासका प्लान्टमा आफ्ना खाली ‘एसटीसी सिलिन्डर’ भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरिएको हो।
कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा निजी प्लान्टमा भरिएका सिलिन्डर शुक्रबारसम्म काठमाडौँ आइपुग्नेछन्।
कर्पोरेशनले हाल कुपन प्रणालीमार्फत ग्यास वितरण गर्दै आएको छ। कुपन दिँदा नै उपभोक्ताले ग्यास पाउने दिन सुनिश्चित गरिने झाले बताए।
यसैबीच, कर्पोरेशनले करिब छ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात रहेको जनाएको छ। भदौ १७ गतेसम्म कर्पोरेशनसँग एक लाख २७ हजार ३६१ मेट्रिकटन नुन मौज्दात रहेको छ।
बजारमा चिनीको मूल्य बढिरहेका बेला कर्पोरेशनले प्रतिकिलो १०० रुपैयाँमा चिनी बिक्री गर्दै बजार हस्तक्षेपसमेत गरिरहेको छ। निजी क्षेत्रबाट चिनी प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री भइरहेका बेला कर्पोरेशनले पछिल्लो समय तीन हजार टन चिनी बजारमा पठाइसकेको जनाएको छ।
कर्पोरेशनले विपद् तथा असहज परिस्थितिमा नुन, चिनी, खाद्यान्न र ग्यासजस्ता अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राख्नु आफ्नो मुख्य उद्देश्य रहेको जनाएको छ।

