काठमाडौं । विपद्का बेला सरकारी कर्मचारी केवल कार्यालय र जिम्मेवारीमा सीमित हुँदैनन्, उनीहरू समाजको भरोसा र राज्यको मानवीय अनुहार पनि बन्न सक्छन् भन्ने उदाहरण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (ब्याट–३९) का शाखा अधिकृतहरूले प्रस्तुत गरेका छन्।
ब्याट–३९ मा सहभागी २०६ जना शाखा अधिकृतद्धारा आपसमा रकम संकलन गरी २ लाख ३ हजार ३ सय ३३ रुपैयाँ भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको सो ब्याटका शाखा अधिकृत अर्जुन पौडेलले जानकारी दिए ।
भोटेकोशी बाढीले जनधनमा ठूलो क्षति पुर्याइरहेको र प्रभावित नागरिक तत्काल राहत, उद्धार तथा पुनःस्थापनाको पर्खाइमा रहेका बेला शाखा अधिकृतहरूको यो सहयोग रकमभन्दा पनि ठूलो मानवीय ऐक्यबद्धताको सन्देश बनेको छ।
सरकारी सेवामा रहेर प्रशासनिक जिम्मेवारीसँगै समाजप्रतिको उत्तरदायित्वलाई पनि आत्मसात् गर्नुपर्ने सन्देश उनीहरूको पहलले दिएको छ। विशेषगरी भविष्यमा राज्यको प्रशासनिक नेतृत्व सम्हाल्ने पुस्ताले विपद्को घडीमा पीडित नागरिकसँग राज्य र राष्ट्रसेवकको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ।
यो सहयोगले अन्य ब्याचका शाखा अधिकृत, निजामती कर्मचारी तथा सरकारी सेवामा कार्यरत सम्पूर्ण राष्ट्रसेवकलाई पनि विपद्मा आफ्नो क्षमताअनुसार योगदान गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
राहत रकम ठूलो–सानोभन्दा पनि संकटमा परेको नागरिकका लागि देखाइएको संवेदना महत्वपूर्ण हुन्छ। त्यसैले ब्याट–३९ का शाखा अधिकृतहरूको यो पहललाई एउटा आर्थिक सहयोगका रूपमा मात्र नभई ‘विपद्मा राष्ट्रसेवकको साथ’ भन्ने सकारात्मक संस्कारको सुरुवातका रूपमा लिन सकिन्छ।
भोटेकोशी बाढीले सिर्जना गरेको संकटमा राज्यका संयन्त्रसँगै समाजका हरेक तह र वर्गको साथ आवश्यक रहेको अवस्थामा ब्याट–३९ का शाखा अधिकृतहरूको यो उदाहरणीय कदमले अन्य कर्मचारीलाई पनि ‘पीडित नागरिकका लागि हामीले के गर्न सक्छौँ?’ भनेर सोच्न र अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ।


