नुवाकोटमा बाढीको वितण्डा, १,५०० परिवार विस्थापित


काठमाडौं ।  नुवाकोटमा आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। त्रिशूली, ढुंगेबजार र देवीघाटलगायत नदी किनारका बस्ती तथा बजारहरू बाढी र कटानका कारण तहसनहस भएका छन्। कतिपय घर तथा संरचनाको जग नै खोलाले बगाएपछि ती जोखिममा परेका छन्।

बाढीले महत्वपूर्ण जलविद्युत आयोजनाका संरचनासमेत क्षतिग्रस्त बनाएपछि नुवाकोटका प्रभावित क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। विद्युत आपूर्ति नहुँदा प्रभावित नागरिकको जनजीवन थप कष्टकर बनेको छ।

स्थलमार्ग अवरुद्ध भएपछि उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर परिचालन गरेको छ। विदुर नगरपालिका–४, दम्कीस्थित नेपाली सेनाको मैथली ब्यारेकलाई उद्धारको मुख्य केन्द्र बनाएर एक दर्जनभन्दा बढी हेलिकप्टरमार्फत फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार बाढीका कारण जिल्लामा झण्डै १ हजार ५०० परिवार विस्थापित भएका छन्। उनीहरू अहिले सुरक्षित आश्रय र राहतको पर्खाइमा छन्।

बाढीग्रस्त त्रिशूली, ढुंगेबजार र देवीघाट क्षेत्रमा घर, सडक तथा अन्य भौतिक संरचना बगरमा परिणत भएका छन्।

२०८३ भाद्र ११, बिहीबार १५:१६ प्रकाशित
ट्रेन्डिङ समाचार