रसुवाका सबै स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौं । रसुवा बाढीबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालले संसद्लाई जानकारी दिए ।

सरकारले निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भएको छ । रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको ठूलो बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ ।

ऐनअनुसार गम्भीर प्रकृतिको विपद् उत्पन्न भएको अवस्थामा सरकारले निश्चित सीमा र अवधि तोकेर क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्न सक्छ । निर्धारित अवधिमा अवस्था नियन्त्रणमा नआए घोषणाको अवधि थप गर्न सकिने व्यवस्था पनि ऐनमा छ ।

२०८३ भाद्र १०, बुधबार १६:३३ प्रकाशित
ट्रेन्डिङ समाचार