काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति सभामुख डोलप्रसाद अर्यालले दुःख व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभामुख अर्यालले घाइतेको तत्काल उद्धार, बेपत्ताको खोजी तथा पीडित र विस्थापितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। उनले उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिए।
सभामुखले विपद्को समयमा निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजलाई समेत सहयोग र समन्वयमा जुट्न आग्रह गरे। बाढीका कारण संसद्मा शोकको वातावरण रहेकाले आजका अन्य कार्यसूची स्थगित गर्दै प्रतिनिधिसभाको बैठक आगामी बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले बाढीको कारण र भएको क्षतिको विवरणबारे सदनलाई जानकारी गराएका छन्।


