१० निर्णय : भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय


काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पताललाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सरकारले बाढीमा फसेका तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसहित आवश्यक सबै साधन प्रयोग गर्ने निर्णय भएको छ।

घरबास गुमाएकाहरूको व्यवस्थापन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिले गर्नेछन्।

त्यस्तै, बाढीका कारण अवरुद्ध सडक तथा खानेपानी सेवा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई र विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बाढीमा ज्यान गुमाउनेका परिवारलाई कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ।

२०८३ भाद्र १०, बुधबार १५:४२ प्रकाशित
ट्रेन्डिङ समाचार