सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस हुँदै

इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सिफारिस गर्ने तयारी, एक जनालाई मन्त्रिपरिषद्ले सचिव बनाउने


काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको सचिव बढुवा प्रक्रिया फेरि तीव्र गतिमा अघि बढेको छ। एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गरी सचिव बढुवा सिफारिस समितिको बैठक आज बस्दैछ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिको बैठक आज साँझ समितिको सचिवालय रहेको भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा  बस्ने तयारी छ।

बिहीबार बसेको समितिको बैठकले सचिव बढुवाका लागि सम्भाव्य सहसचिवहरूको विवरण संकलन तथा अध्ययन गर्ने निर्णय गरेको थियो। सोही आधारमा आजको बैठकले वरिष्ठताका आधारमा तीन जना सहसचिवको नाम सचिव बढुवाका लागि सरकारसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।

स्रोतका अनुसार  समितिले सिफारिस गर्ने सम्भावित तीन जनामा वरिष्ठताक्रममा पहिलो नम्बरमा रहेकी इन्दु घिमिरे, दोस्रो नम्बरमा रहेका श्रीकृष्ण नेपाल र तेस्रो नम्बरमा रहेका नारायणप्रसाद भट्ट रहेका छन्।

समितिबाट सिफारिस हुने तीन जनामध्ये एक जनालाई सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सचिवमा बढुवा गर्नेछ।

यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो   थियो। त्यसपछि रिक्त रहेको अर्को सचिव पदका लागि अहिले बढुवा प्रक्रिया अघि बढाइएको हो। यो प्रक्रिया निरन्तर रहने सिफारिस समितिले बताएको छ ।

लामो समयदेखि रोकिएको थियो बढुवा प्रक्रिया

सरकारले पछिल्लो समय मन्त्रालयको संख्या घटाउने, विभिन्न मन्त्रालय तथा निकाय गाभ्ने र सचिवसहित उच्च तहका दरबन्दी पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएपछि सचिव बढुवा प्रक्रिया प्रभावित हुँदै आएको थियो।

सरकारको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण र उच्च तहका दरबन्दी पुनरावलोकनको विषय टुंगो नलाग्दा लामो समयदेखि सचिव बढुवासमेत रोकिएको थियो। तर पछिल्लो समय रिक्त सचिव पदमा बढुवा गर्नुपर्ने दबाब बढेपछि सरकारले प्रक्रिया पुनः अघि बढाएको हो।

आजको बैठकबाट तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भए त्यसपछि सचिव बढुवाको अन्तिम निर्णय मन्त्रिपरिषद्बाट हुनेछ। यससँगै लामो समयदेखि अन्योलमा रहेको सचिव बढुवा प्रक्रियाले पुनः गति लिने देखिएको छ।

२०८३ भाद्र ५, शुक्रबार १४:११ प्रकाशित
ट्रेन्डिङ समाचार