पुतलीसडकका एक होस्टेलको भान्सा बन्द, न्यु रोडको म:म सेन्टरबाट म्याद गुज्रेका पेय पदार्थ नष्ट


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासँगको संयुक्त टोलीमार्फत २०८३ साउन १९ गते आकस्मिक बजार अनुगमन गर्दा तीन खाद्य व्यवसायमा निरीक्षण गरेको छ।

अनुगमनका क्रममा पुतलीसडकस्थित थकाली गर्ल होस्टेलको भान्सामा सरसफाइ कमजोर, सांङ्लाको प्रकोप तथा अन्य स्वच्छतासम्बन्धी समस्या भेटिएपछि तत्काल भान्सा बन्द गरी महानगरपालिकाको निगरानीमा सुधार गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, मरिगोल्ड गर्ल होस्टेलमा सरसफाइ सन्तोषजनक पाइए पनि खाद्य पदार्थ सुरक्षित तापक्रममा भण्डारण गर्न र कीट नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको विभागले जनाएको छ।

यस्तै, न्यु रोडस्थित शिखर म:म सेन्टरमा म्याद गुज्रेका १३ थान हल्का पेय पदार्थ तथा मापदण्डविपरीत रहेको प्रयोग गरिएको तेल नष्ट गरिएको छ। सरसफाइ सुधार, कीट नियन्त्रण प्रभावकारी बनाउन तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिइएको छ। तीनवटै घटनाबारे थप अनुसन्धान काठमाडौं महानगरपालिकाले अघि बढाउने जनाएको विभागले जानकारी दिएको छ।

२०८३ श्रावण २०, बुधबार १९:१४ प्रकाशित
ट्रेन्डिङ समाचार