शिक्षक सेवा आयोगको अध्यक्षमा पाँच पूर्वसचिव र एक सचिव मैदानमा, लोकसेवा नेतृत्वको छनोट प्रक्रियाले निष्पक्षताको अपेक्षा


काठमाडौं। शिक्षक सेवा आयोगको अध्यक्ष पदका लागि नेपाल सरकारका पाँच जना पूर्वसचिव तथा संसद सचिवालयका एक कार्यरत सचिव अन्तिम प्रतिस्पर्धामा पुगेका छन्। आयोगले साउन १ गते १५ दिनको समयसीमा तोकेर आवेदन आह्वान गरेपछि कानुनी योग्यता पूरा गरेका ६ जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।

अन्तिम प्रतिस्पर्धामा पूर्वसचिव मधुसूदन अधिकारी, रघुराम विष्ट, डा. हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला, सुरेश अधिकारी तथा संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे रहेका छन्। डा. पाण्डे हाल कार्यरत सचिव हुन् भने अन्य पाँच जना नेपाल सरकारका पूर्वसचिव हुन्।

स्रोतका अनुसार शिक्षक सेवा आयोगसम्बन्धी कानुनी व्यवस्थाअनुसार विशिष्ट श्रेणी (सचिव) को अनुभव प्राप्त व्यक्तिमात्र आयोगको अध्यक्षका लागि योग्य हुने भएकाले सो मापदण्ड पूरा नगरेका अन्य आवेदकहरूको आवेदन अस्वीकृत गरिएको हो।

लोकसेवा आयोगको नेतृत्वमा छनोट प्रक्रिया

शिक्षा सेवा ऐन, २०२८ अनुसार आयोगको अध्यक्ष सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ।

समितिले प्रतिस्पर्धीहरूको कार्ययोजना, प्रस्तुति र अन्तर्वार्ता का आधारमा मूल्याङ्कन गरी एक जनाको नाम नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ।

कानुनअनुसार समितिले सिफारिस गरेको व्यक्तिलाई सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेकाले अन्तिम छनोट प्रक्रिया मुख्यतः योग्यता, क्षमता र प्रस्तुतीकरणमा आधारित हुने अपेक्षा गरिएको छ।

निष्पक्ष नियुक्तिको अपेक्षा

यसपटकको नियुक्ति प्रक्रिया लोकसेवा आयोगको नेतृत्वमा सञ्चालन हुने भएकाले विगतका केही नियुक्तिहरूमा उठ्ने गरेका राजनीतिक प्रभाव वा चलखेलका आशंका न्यून रहने प्रशासनिक वृत्तको बुझाइ छ। प्रतिस्पर्धात्मक प्रस्तुति र अन्तर्वार्तामार्फत योग्य उम्मेदवार छनोट हुने कानुनी व्यवस्था भएकाले शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति वर्तमान सरकारको कार्यकालकै सबैभन्दा निष्पक्ष र प्रक्रियामुखी नियुक्तिमध्ये एक हुने अपेक्षा गरिएको छ।

 

२०८३ श्रावण १६, शनिबार १८:५५ प्रकाशित
ट्रेन्डिङ समाचार