अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप सङ्कलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ८३ दिनका लागि आज एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले निक्षेप सङ्कलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो।
बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत हुनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ भने साँवा र ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्।