चक्रपथ विस्तार अझै अन्योलमा, सर्वसाधारण सास्तीमा


काठमाडौं। काठमाडौं चक्रपथको कलंकी–बसुन्धरा–सुकेधारा–धोबीखोला सडकखण्ड वर्षौंदेखि विस्तारको पर्खाइमा रहँदा यात्रु र सवारी चालकले हिलो, धुलो, झारपात र अव्यवस्थित पार्किङका कारण दैनिक सास्ती खेपिरहेका छन्।

नेपाल सरकार र चिनियाँ पक्षबीच गत वैशाख १६ गते कलंकी–बसुन्धरा ८.२ किलोमिटर सडक विस्तारका लागि करिब ११ अर्ब रुपैयाँ अनुदान सम्झौता भए पनि निर्माण कार्य अझै सुरु भएको छैन। प्रारम्भिक डिजाइन स्वीकृत भइसकेको भए पनि विस्तृत डिजाइन, चिनियाँ स्वीकृति र ठेकेदार छनोट प्रक्रिया बाँकी रहेकाले काम ढिलिएको हो।

आयोजनाका अनुसार निर्माण आगामी वर्षायामपछि, असोजतिर सुरु गर्ने तयारी छ। प्रस्तावित सडक ३८.५ मिटर चौडा, आठ लेनको हुनेछ। यसमा दुई पुल, चार अपांगमैत्री आकाशेपुल, एक ओभरपास, २२ बस बिसौनी र हरियालीसहितको मेडियन निर्माण गरिनेछ।

नेपाल सरकारले सडक सीमा खाली गर्ने, पोल तथा तार सार्ने र सर्भिस ट्र्याक निर्माणलगायत आफ्नो तयारी पूरा गरिसकेको जनाएको छ।

२०८३ श्रावण ५, मंगलवार २०:१० प्रकाशित
ट्रेन्डिङ समाचार