दिगो विकास, डिजिटल सुशासन र समृद्धिको मार्गचित्र : बुढानीलकण्ठको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक


काठमाडौं । राजधानीको उत्तरी क्षेत्रमा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले सम्पन्न बुढानीलकण्ठ नगरपालिका आगामी आर्थिक वर्ष २०८३\८४ मा विकासको नयाँ चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। नगरपालिकाले दिगो विकास, समावेशीता, सुशासन, डिजिटल प्रविधि, गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै महत्वाकांक्षी वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय तथा धार्मिक नगर बुढानीलकण्ठ’ भन्ने दीर्घकालीन सोचलाई मूर्तरूप दिने लक्ष्यसहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले नगरलाई आधुनिक, प्रविधिमैत्री, नागरिकमैत्री र आत्मनिर्भर स्थानीय सरकारका रूपमा विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।

 

नगर प्रमुख मिठाराम अधिकारीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षको प्राथमिकता नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने तथा विकासका लाभ सबै वर्ग र समुदायसम्म पुर्‍याउने रहेको बताए।

उनले नगरपालिकाले अब परम्परागत प्रशासनिक अभ्यासभन्दा माथि उठेर कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि तथा डिजिटल प्रणालीमा आधारित सार्वजनिक सेवा प्रवाहको युगतर्फ कदम बढाएको उल्लेख गरे।

उनका अनुसार आगामी वर्ष सेवा प्रवाहलाई छरितो, पारदर्शी, पूर्वानुमानयोग्य तथा परिणाममुखी बनाइनेछ। नागरिकले पाउने सेवाको गुणस्तर वृद्धि गर्दै सेवामा सुनिश्चितता कायम गर्न सूचना प्रविधि र एआईको प्रयोग बढाइनेछ।

नगर प्रमुख अधिकारीले नगरवासीको अपेक्षा पूरा गर्दै विकासका लक्ष्य हासिल गर्न नवप्रवर्तनशील सोचका साथ अघि बढ्ने दृढ संकल्प व्यक्त गरे। उनले समृद्ध, समावेशी र दिगो नगर निर्माणलाई नीति तथा कार्यक्रमको मूल आधार बनाइएको बताए।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले विकासको मूल आधार नै सुशासन भएकाले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्दै नीति तथा कार्यक्रमलाई परिणाममुखी बनाइने बताए ।

उनका अनुसार नगरपालिकाले यस वर्ष प्रविधि, पूर्वाधार र वातावरणीय व्यवस्थापनलाई अलग–अलग नभई एकीकृत ढाँचामा अघि बढाउने रणनीति लिएको छ।

“आगामी आर्थिक वर्षमा एआई र प्रविधिमैत्री सेवा प्रणालीलाई विस्तार गर्दै सेवा प्रवाहलाई अझ छिटो, पारदर्शी र पूर्वानुमानयोग्य बनाउने हाम्रो प्राथमिकता हो,” बर्तौलाले भने। “दिगो पूर्वाधार निर्माणसँगै नियमित मर्मतसम्भारलाई संस्थागत गर्ने, फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने र वातावरण संरक्षणका कार्यक्रमलाई नीतिगत रूपमा सुदृढ बनाइनेछ।”

उनले शिक्षाको गुणस्तर सुधारलाई समेत नगरपालिकाको प्रमुख एजेन्डाका रूपमा राखिएको उल्लेख गर्दै सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग विस्तार गरी डिजिटल सुशासनलाई थप मजबुत बनाइने बताए।

बर्तौलाले पूर्वाधार विकाससँगै त्यसको दीगो सञ्चालनका लागि मर्मतसम्भार प्रणालीलाई संस्थागत गर्ने नीति अघि सारिएको स्पष्ट पारे। साथै, फोहरमैला व्यवस्थापन र वातावरण संरक्षणका कार्यक्रमलाई व्यवहारिक र परिणाममुखी बनाइने उनको भनाइ थियो।

स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को
नगरपालिकाले आगामी वर्ष स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तारलाई उच्च प्राथमिकता दिएको छ।
बुढानीलकण्ठ नगर अस्पताललाई २४ सै घण्टा विशेषज्ञ सेवासहित सञ्चालन गर्ने, माइनर शल्यक्रिया सेवा विस्तार गर्ने, दन्त उपचार, नवजात शिशु तथा बालरोग सेवा सुदृढ गर्ने कार्यक्रम समेटिएको छ।

नगर अस्पताललाई स्थानीय तहकै भरोसायोग्य स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी सामाजिक सुरक्षा कोषसँग आबद्धता बढाउँदै विपन्न, अपांगता भएका व्यक्ति, हिंसापीडित, ज्येष्ठ नागरिक तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण स्वास्थ्य सेवाको दायरा विस्तार गरिने भएको छ।

नसर्ने रोगको रोकथाम, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा, प्रसूति पोषण भत्ता, विद्यालय स्वास्थ्य कार्यक्रम तथा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ।

महिलाको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक परीक्षण सेवा नगर अस्पतालबाट निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।

शिक्षामा रूपान्तरणको अभियान
शिक्षा क्षेत्रलाई नगरपालिकाले विकासको दीर्घकालीन आधारका रूपमा परिभाषित गरेको छ।सामुदायिक विद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी तथा अभिभावकको पहिलो रोजाइ बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम अघि सारिएको छ।सामुदायिक र संस्थागत विद्यालयबीचको गुणस्तरीय अन्तर घटाउँदै सबै बालबालिकालाई समान अवसर प्रदान गर्ने रणनीति अवलम्बन गरिएको छ।

‘शैक्षिक उन्नयन वर्ष’, ‘शिक्षक हो, शैक्षिक रूपान्तरणको आधार’, ‘आधारभूत शिक्षा मेरो प्राथमिकता’ तथा ‘प्रत्येक समुदाय, एक पुस्तकालय’ जस्ता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।नगर प्रमुख अधिकारीले “के पढ्ने भन्दा कसरी पढ्ने भन्ने अवधारणालाई प्राथमिकता दिइएको” उल्लेख गर्दै सिकाइ उपलब्धिलाई शतप्रतिशत बनाउने दिशामा कार्यक्रम केन्द्रित रहेको बताए।

अटिजम भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोग, छात्रवृत्ति बैंक सञ्चालन, विद्यालय स्वास्थ्य कार्यक्रम विस्तार तथा शिक्षा, सीप, उद्यमशीलता र रोजगारीबीचको सम्बन्ध सुदृढ गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

युवाका लागि अवसरको नयाँ ढोका
बढ्दो वैदेशिक पलायनलाई सम्बोधन गर्ने उद्देश्यसहित नगरपालिकाले युवालाई लक्षित गरी महत्वाकांक्षी कार्यक्रम ल्याएको छ।
‘स्वदेशमा बसौँ, स्वदेशमै गरौँ’ नारालाई व्यवहारमा उतार्न सीप विकास, उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, रोजगारमूलक तालिम तथा इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिनेछ।
नगर युवा परिषद्मार्फत ‘बुढानीलकण्ठ यूथ समिट’, एआई ह्याकाथन, एआई बुटक्याम्प तथा सूचना प्रविधिमा आधारित नवीन कार्यक्रम सञ्चालन गरिने भएको छ।
युवालाई रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने दिशामा उन्मुख बनाउने उद्देश्य नीति तथा कार्यक्रममा स्पष्ट देखिन्छ।

स्मार्ट पूर्वाधार निर्माणको योजना
पूर्वाधार विकासलाई नगरपालिकाले व्यवस्थित, वैज्ञानिक र दीर्घकालीन सोचका साथ अघि बढाउने भएको छ।
नगरभित्रका सडक, ढल, खानेपानी, सार्वजनिक भवन, पार्क तथा सार्वजनिक सम्पत्तिको जीआईएस प्रणालीमार्फत अभिलेखीकरण गरिनेछ।
स्मार्ट लाइटिङ प्रणाली, सीसीटीभी सञ्जाल विस्तार, डिजिटल नक्सापास प्रणाली तथा सार्वजनिक सम्पत्तिको डिजिटल व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
नगरलाई पैदलयात्रीमैत्री तथा अपांगतामैत्री बनाउने लक्ष्य पनि लिइएको छ।

वर्षायाममा हुने डुबान नियन्त्रण, विपद् जोखिम नक्सांकन, सुरक्षित बस्ती विकास तथा बहुउद्देश्यीय सार्वजनिक भवन निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।

विद्युतीय यातायाततर्फ अग्रसर
वातावरणीय दिगोपनलाई ध्यानमा राख्दै नगरपालिकाले विद्युतीय नगर बस सञ्चालनको अवधारणा अघि सारेको छ।
सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने, बसपार्क सञ्चालनमा ल्याउने तथा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

यसले हरित नगर निर्माण तथा कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पर्यटन र सम्पदाको आर्थिक उपयोग
धार्मिक तथा प्राकृतिक सम्पदाले सम्पन्न बुढानीलकण्ठलाई पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने रणनीति पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानमार्फत भाषा, साहित्य, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन गरिनेछ।बागद्वार, विष्णुद्वार, सपनतीर्थ लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर सांस्कृतिक–पर्यटकीय सर्किट निर्माण गरिने भएको छ।नगर नेतृत्वको विश्वास छ कि पर्यटन प्रवर्द्धनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेछ।

सुशासन र डिजिटल प्रशासनमा विशेष जोड
नीति तथा कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष सुशासन र सेवा प्रवाह सुधार हो।नगरपालिकाले पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता तथा डिजिटल प्रशासनलाई प्राथमिकतामा राखेको छ।सेवा प्रवाहलाई सरल, छरितो, सहज र प्रभावकारी बनाउन सूचना प्रविधिमा आधारित डिजिटल सेवा विस्तार गरिनेछ।भ्रष्टाचार नियन्त्रण, सार्वजनिक स्रोतको दुरुपयोग रोकथाम तथा वित्तीय अनुशासन कायम गर्न प्रभावकारी अनुगमन प्रणाली विकास गरिने भएको छ।

संस्थागत सुदृढीकरणका लागि कर्मचारी क्षमता अभिवृद्धि, कार्यसम्पादन मूल्याङ्कन प्रणाली सुधार तथा अन्तरनिकाय समन्वयलाई बलियो बनाइने नीति लिइएको छ।स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य बढाउँदै विकास आयोजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाइने नगरपालिकाको योजना छ।

समावेशी विकासको प्रतिबद्धता
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संरक्षणलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ।बालमैत्री नगरपालिका घोषणा, अपांगतामैत्री सेवा विस्तार, ज्येष्ठ नागरिक स्वास्थ्य तथा परामर्श कार्यक्रम र सामाजिक सुरक्षा प्रणाली सुदृढीकरणलाई निरन्तरता दिइने भएको छ।

समयमै नीति तथा कार्यक्रम ल्याउने पहिलो नगरपालिका
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रमसहित नगरसभा सम्पन्न गर्ने स्थानीय तहमध्ये आफू पहिलो नगरपालिका भएको जनाएको छ।
नगर नेतृत्वका अनुसार यसले आगामी बजेट तथा कार्यक्रम कार्यान्वयनको तयारी समयमै गर्न सहयोग पुग्नेछ।समग्रमा, बुढानीलकण्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रम केवल वार्षिक योजना मात्र नभई आगामी दशकको विकास दृष्टिकोण, सुशासनको प्रतिबद्धता, डिजिटल रूपान्तरणको आधार र समृद्ध नगर निर्माणको मार्गचित्रका रूपमा प्रस्तुत भएको छ। स्वास्थ्य, शिक्षा, प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण र सामाजिक समावेशीकरणलाई एकै सूत्रमा गाँसेर नगरपालिकाले स्थानीय सरकारको नयाँ नमुना प्रस्तुत गर्ने संकेत दिएको छ।

 

२०८३ जेष्ठ २५, सोमबार २१:३५ प्रकाशित
ट्रेन्डिङ समाचार