कोटेश्वर–तीनकुने फ्लाइओभरका लागि ४ रोपनी १४ आना जग्गा अधिग्रहण हुने


काठमाडौं  ।  काठमाडौंको कोटेश्वर–जडीबुटी–तीनकुने खण्डमा ट्राफिक जाम कम गर्न निर्माण गर्न लागिएको फ्लाइओभर तथा अन्डरपाससहितको सडक सुधार आयोजनाका लागि करिब ४ रोपनी १४ आना निजी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ। प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनअनुसार आयोजनाबाट १८ कित्ताका १९ घरधुरी र १९ निजी संरचना प्रभावित हुनेछन्।

आयोजनाअन्तर्गत कोटेश्वर क्षेत्रमा ६४० मिटर लामो अन्डरपास टनेल, जडीबुटीमा ४४० मिटर र तीनकुनेमा ४०० मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ। परियोजनाका लागि जापान सरकारको सहुलियत ऋण सहयोग रहनेछ भने जग्गा तथा संरचनाको मुआब्जा नेपाल सरकारले व्यहोर्नेछ।

स्थानीयले उचित क्षतिपूर्ति, पुनर्स्थापना व्यवस्था र पुराना जग्गा विवाद समाधान गर्न माग गरेका छन्। आयोजना सम्पन्न भएपछि कोटेश्वर–तीनकुने क्षेत्रको ट्राफिक व्यवस्थापनमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

२०८३ जेष्ठ १९, मंगलवार २०:३७ प्रकाशित
ट्रेन्डिङ समाचार