काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ता माग गर्दै ६ हजार ३०० भन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार उनीहरूले कुल ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बराबरको बचत फिर्ता माग गरेका हुन्।
विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार अधिकांश उजुरीकर्ता १ लाखदेखि ५ लाख रुपैयाँसम्म बचत गरेका साना बचतकर्ता हुन्, जसको हिस्सा करिब ७८ प्रतिशत रहेको छ। हाल दैनिक ५०० देखि १ हजारसम्म नयाँ उजुरी दर्ता भइरहेको विभागले जनाएको छ।
यसबीच काठमाडौँ महानगरपालिका–६ स्थित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले केही बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको छ। सहकारीले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ३४ जनाको रकम फिर्ता गरिसकेको र आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ।
सहकारी विभागले बचत फिर्ता तथा ऋण असुली प्रक्रियामा सहजीकरण गर्दै आएको बताउँदै उजुरीका आधारमा मिलापत्रको प्रयास गरिने र आवश्यक परे कानुनी कारबाहीका लागि सिफारिससमेत गरिने जनाएको छ।


