काठमाडौँ । नेपाल सरकारको सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको सुरुवातमा रहेको २६ खर्ब ७४ अर्ब रुपैयाँ ऋण दश महिनामै करिब ३ खर्ब रुपैयाँले बढेको हो।
हाल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत पुगेको छ। कुल ऋणमध्ये बाह्य ऋण ५३.५७ प्रतिशत र आन्तरिक ऋण ४६.४३ प्रतिशत रहेको कार्यालयले जनाएको छ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दा विनिमय दरकै कारण १६ अर्ब ७७ करोड रुपैयाँ थप दायित्व बढेको छ।
सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखे पनि बैशाख मसान्तसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ मात्र परिचालन भएको छ। बाह्य ऋणको प्रगति कमजोर रहेपछि सरकारले आन्तरिक ऋणमा निर्भरता बढाएको देखिएको छ।
यस्तै, ऋणको साँवा र ब्याज भुक्तानीमा मात्रै हालसम्म २ खर्ब ९२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। अर्थविद्हरूले ऋणको उपयोगिता र प्रतिफल प्रभावकारी नभए दीर्घकालमा अर्थतन्त्रमा थप दबाब पर्न सक्ने चेतावनी दिएका छन्।


