काठमाडौं । रूपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगद्वारा स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारी मनोनयन, उजुरी, नामावली प्रकाशन र मतदानको मिति तोकिएको छ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उम्मेदवारी मनोनयन २०८२ असोज २१ गते बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ ।
उजुरी दिन २०८२ असोज २२ गते बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म समय दिइएको छ । मनोनयन पत्रको जाँचबुझ र उजुरीमाथिको निर्णय असोज २२ गते दिउँसो ३:०० देखि असोज २३ गते बेलुका ५:०० बजेसम्म हुनेछ ।
उम्मेदवारको अन्तिम नामावली असोज २३ गते बेलुका ५:०० देखि ७:०० बजेसम्म प्रकाशन गरिनेछ । यस्तै, उम्मेदवारले असोज २४ गते बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १:०० देखि ३:०० बजेसम्म अन्तिम नामावली प्रकाशन र ३:०० देखि ६:०० बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ। मतदान भने २०८२ कात्तिक १७ गते बिहान ७:०० देखि बेलुका ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको जनाएको छ ।


