६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ


काठमाडौं । सुन तस्करी प्रकरणकी फरार अभियुक्त अमला रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ । एक प्रहरी अधिकृतका अनुसार रोका ६१ किलो सुन तस्करी काण्डमा संलग्न थिइन् ।

उनको खोजीका लागि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो । रोका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन्, जो सुन तस्करीमा मुछिएका छन् । काठमाडौंको ठमेलस्थित होटेल भियना उनकै नाममा दर्ता छ ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणको थप अनुसन्धानका लागि १९ दिनपछि विभागले सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।

२०८२ असार ६, शुक्रबार १९:१२ प्रकाशित
ट्रेन्डिङ समाचार