सोलुदुधकुण्ड–७ गार्मा बालमैत्री स्थानीय शासनयुक्त वडाको रुपमा घोषणा


सोलुखुम्बु, जेठ ३१ – कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–७, गार्मा वडालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित गरिएको छ।

वडा अध्यक्ष तथा समाजसेवी सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला तथा विशिष्ट अतिथि नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा रहेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, जिल्ला स्तरीय सरकारी कार्यालय प्रमुखहरू, विद्यालयका शिक्षकहरू, विद्यार्थी, अभिभावक, बाल सञ्जाल तथा बाल क्लबका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ–संस्था, व्यवसायी र समुदायका सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक कुल ५१ सूचकहरूमध्ये ५० सूचक अर्थात् ९८ प्रतिशतभन्दा बढी सूचक पुरा भएपछि गार्मा वडालाई बालमैत्री वडा घोषणा गरिएको सोलुदुधकुण्ड नगरपालिकाले जानकारी दिएको छ ।

उक्त ऐतिहासिक अवसरमा सोलुदुधकुण्ड नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक सुवास तामाङको शब्द, शक्ति बल्लभको सङ्गीत र रामचन्द्र काफ्लेको स्वरमा रहेको “लालिगुराँस फुल्ने यहाँ, नुम्बुर हिमाल मुस्कुराउने” बोलको गीत पनि सार्वजनिक गरिएको थियो। गीतमा गार्मा माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका थिए ।

बाल अधिकार, संरक्षण र सहभागिताको सन्देश बोकेको यस घोषणाले वडामा बालमैत्री वातावरण निर्माणमा थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।

२०८२ जेष्ठ ३१, शनिबार १९:५४ प्रकाशित
ट्रेन्डिङ समाचार