१. साक्षी परीक्षण भनेको के हो ? मुलुकी देवानी कार्यविधि संहिता, २०७४ मा व्यवस्था गरिएका साक्षी परीक्षणसम्बन्धी प्रावधान सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् ।
मुद्दाको विवादित विषयवस्तुको बारेमा देख्ने, सुन्ने र थाहा पाउने व्यक्तिलाई साक्षी भनिन्छ । विवादित विषयवस्तुका बारेमा अदालतद्वारा साक्षीलाई प्रश्न गरी निजले दिएको जवाफ लेखबद्ध गर्ने कार्यलाई साक्षी परीक्षण भनिन्छ । नेपाल सरकार वा सार्वजनिक हक हित वा सरोकार रहेको मुद्दामा नबुझी नहुने साक्षीलाई अदालतले म्याद जारी गरी झिकाउनेबाहेकका अन्य अवस्थामा जसको साक्षी हो उसैले साक्षी उपस्थित गराउनु पर्छ । साक्षी परीक्षण गर्दा एक पक्षको साक्षीलाई अर्को पक्षले जिरह गर्ने मौका दिनु पर्छ ।
साक्षी परीक्षणसम्बन्धी व्यवस्थाहरू :
– मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को परिच्छेद–१६ मा उल्लेख भएबमोजिम साक्षी परीक्षणसम्बन्धी प्रावधान निम्न छन् ।
– मुद्दाका पक्ष स्वयम्ले अदालतद्वारा तोकिएको तारिखका दिन साक्षी परीक्षणका लागि साक्षी उपस्थित गराउनुपर्ने,
– नेपाल सरकारको वा सार्वजनिक हक, हित वा सरोकार संलग्न रहेको मुद्दामा नबुझी नहुने साक्षीलाई अदालतबाट झिकाई परीक्षण गर्न सकिने,
– शारीरिक अस्वस्थताका कारण अदालतमा उपस्थित हुन नसक्ने अवस्थामा न्यायाधीश स्वयम् वा अदालतको कर्मचारी खटाइ साक्षी बुझ्न सकिने,– श्रव्य– दृश्य संवाद –भिडियो कन्फरेन्स) मार्फत साक्षी परीक्षण गर्न सकिने,
– पक्षलाई तारिख तोकिएको दिनमा साक्षी परीक्षण गर्ने गरी दिन तोक्नुपर्ने,
– साक्षीले अदालतमा उपस्थित भई बकपत्र गर्दा सत्य कुरा व्यक्त गर्ने कुराको उद्घोषण गरी न्यायाधीशसमक्ष सपथ लिनुपर्ने,
– साक्षी परीक्षण जुन न्यायाधीशको इजलासमा पेस भएको छ सोही न्यायाधीशले गराउनुपर्ने,
– तोकिएको तारेखका दिन साक्षी परीक्षण गराउनुपर्ने,
– साक्षी परीक्षण गर्दा अदालतको प्रश्न, साक्षीको जवाफ, जिरह भएको भए सोसमेत बकपत्रमा उल्लेख गरी न्यायाधीशले प्रमाणित गर्नुपर्ने,
– साक्षी परीक्षण गर्दा साक्षीले सोधिएको प्रश्नको जवाफ नदिएमा, जवाफ दिन इन्कार गरेमा, सोधिएको नभई असम्बन्धित प्रश्नको जवाफ दिएमा न्यायाधीशले सोको कैफियत खुलाई प्रमाणित गर्नुपर्ने,
– बन्द सवाल गर्न सक्ने ।
– अन्त्यमा, साक्षी परीक्षण न्यायसम्पादनको प्रक्रियागत चरण हो । कार्यविधि कानुनमा साक्षी परीक्षणलाई उच्च महत्व दिइएको पाइन्छ । मुद्दामा विवादित दुवै पक्षको कुरा सुनी तथा पर्याप्त प्रमाणको परीक्षण गरी न्यायसम्पादन गरेमा मात्र सही ठाउँमा न्याय पर्न सक्ने हुनाले साक्षी परीक्षणलाई सहज, सरल र मितव्ययी बनाउँदै जानु पर्छ ।


