लोकसेवा परीक्षा टिप्स : मानव विकास  र नेपालमा मानव विकासको क्षेत्रमा देखा परेका समस्या 


मानिसका क्षमता र छनोटका अवसर विस्तार गरी मानवीय जीवनलाई उन्नत बनाउने प्रक्रियालाई मानव विकास भनिन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले मानव विकासलाई मानवको क्षमता अभिवृद्धि, छनोटका दायरा विस्तार तथा सबै नागरिकको स्वतन्त्रता र मानव अधिकारको प्रवर्धन गर्ने प्रक्रियाको रूपमा अथ्र्याउँदै यसको मापन गर्न मानव विकास सूचकाङ्कको विकास गरेको छ । जसमा स्वास्थ्य (आयु), शिक्षा, र जीवनस्तर (आय) का तीन मुख्य पक्षहरू समावेश गरिएका छन् ।

अमर्त्य सेनको मानव विकाससम्बन्धी दृष्टिकोण :

– प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनले मानव विकासलाई व्यक्तिको स्वतन्त्रता तथा क्षमताको विस्तार गर्ने प्रक्रियाको रूपमा लिएका छन् । उनका अनुसार मानिसहरूलाई उनीहरूको जीवनमा सार्थक छनोट गर्न सक्ने बनाउनु नै वास्तविक विकास हो । आर्थिक वृद्धि केवल साधन मात्र हो । अमत्र्य सेनको मानव विकास दृष्टिकोणका मुख्य बुँदाहरू यस प्रकार छन् ।

क) क्षमताको विस्तार : मानव विकासको मुख्य उद्देश्य व्यक्तिको क्षमता बढाउनु हो । व्यक्तिलाई आफ्नो जीवनस्तर सुधारका लागि विकल्पहरू छनोट गर्न सक्षम बनाउने प्रक्रियाको रूपमा मानव विकासलाई लिन सकिन्छ । गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारी पाउने, गुणस्तरीय स्वास्थ्य सेवा दिएर दीर्घ र आरोग्य जीवन जीवन सक्ने बनाउने तथा आयस्तर सुधार गरेर उन्नत जीवन जिउन सक्ने बनाउनु नै मानव विकास हो ।

ख) स्वतन्त्रतामा जोड : सेनले स्वतन्त्रतालाई मानव विकासको केन्द्रविन्दु मानेका छन् । उनका अनुसार वास्तविक विकास भनेको व्यक्तिले आफ्नो जीवनमा स्वतन्त्रतापूर्वक छनोट गर्ने अवसर पाउनु हो ।

ग) बहुआयामिक अवधारणा : सेनका अनुसार आयले मात्र व्यक्तिको जीवनस्तर निर्धारण गर्न सक्दैन । शिक्षा, स्वास्थ्य र आर्थिक, सामाजिक एवं राजनीतिक अधिकार जस्ता कुराहरू पनि महìवपूर्ण छन् । धेरै आय भए पनि यदि स्वास्थ्य सेवा वा शिक्षामा पहुँच छैन भने मानव विकास भएको मान्न सकिँदैन ।

घ) समानता र न्याय : सेनले समानतामा आधारित समाज निर्माणलाई महत्व दिएका छन् । उनका अनुसार विकासले सबैलाई समान अवसर प्रदान गर्नु पर्छ । महिला, दलित र सीमान्त समुदायलाई समान अवसर प्रदान गरेर उनीहरूको पहुँच स्थापना गर्न सकिएमा मात्र विकासले पूर्णता प्राप्त गर्छ ।

ङ) मानव अधिकार र मर्यादा : मानव विकासले मानवीय मर्यादा र अधिकारलाई सम्मान गर्नु पर्छ । व्यक्तिलाई शोषण, भेदभाव र असमानताबाट मुक्त गरेर मानव विकास गर्न सकिन्छ ।

नेपालमा मानव विकासका क्षेत्रमा देखा परेका प्रमुख समस्या

– नेपालको मानव विकासको अवस्थामा क्रिमिक सुधार भए तापनि दक्षिण एसियामा नेपालको अवस्था अद्यापि कमजोर नै छ । नेपालको मानव विकासको क्षेत्रमा देहायका समस्या विद्यमान छन् :

– मानव विकाससम्बन्धी नीति तथा कार्यक्रिममा सरकारको न्यून लगानी,

– मौलिक हकको रूपमा रहेका हक अधिकारहरूको कार्यान्वयन सुस्त,

– स्रोत साधन वितरण र उपयोगमा मानव विकासका सूचकहरूलाई कम ध्यान दिने गरिएको,

– गुणस्तरीय शिक्षा र आधुनिक सिपमूलक तालिमको कमीले श्रम बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ,

– ग्रामीण क्षेत्र गुणस्तरीय शिक्षाबाट वञ्चित,

– उच्च शिक्षामा असमान पहुँच,

– सिपमूलक र व्यावहारिक शिक्षाको अभाव,

– दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा, अस्पताल तथा औषधीको अभाव,

– न्यून पोषण तथा खाद्य असुरक्षा,

– खर्चिलो स्वास्थ्य सेवा,

– नेपालको ठुलो जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको,

– सीमित आन्तरिक रोजगारीका कारण युवाहरूको विदेश पलायन बढ्दो,

– श्रम बजारमा न्यून पारिश्रमिकको समस्या,

– महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नेतृत्व तहमा न्यून पहुँच,

– घरेलु हिंसा, बालविवाह, र लैङ्गिक विभेद जस्ता सामाजिक विकृतिहरूको विद्यमानता,

– लैङ्गिक, जातीय र क्षेत्रीय आधारमा शोषण र सीमान्तीकरण,

– ग्रामीण क्षेत्रमा विद्युत्, यातायात, सञ्चार, खानेपानी तथा सरसफाइलगायतका आधारभूत सेवाहरूको अपर्याप्तता,

– भ्रष्टाचार, अनियमितता तथा ढिलासुस्तीका कारण मानव विकासका कार्यक्रिमहरू प्रभावकारी हुन नसक्नु,

– जलवायु परिवर्तनका कारण कृषि तथा खाद्य प्रणाली र खानेपानी तथा सरसफाइ प्रभावित हुँदा मानव विकासमा अवरोध सिर्जना,

– बाढी, पहिरो, खडेरी र अन्य प्राकृतिक विपत्तिबाट मानव विकासमा नकारात्मक असर पर्नु,

– अन्त्यमा मानव विकासको अवधारणाले राज्यलाई आर्थिक वृद्धिमा मात्र केन्द्रित नभई व्यक्तिको समग्र हितमा काम गर्न प्रेरित गर्छ ।

– शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि, गरिबी र असमानता न्यूनीकरण, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, लैङ्गिक समानता कायम, सहभागितामूलक विकासमार्फत सीमान्तकृत समुदायको मूलप्रवाहीकरण जस्ता कार्यबाट मानव विकासको अवस्थामा सुधार गर्न सकिन्छ । यसका लागि तिनै तहका सरकारको समन्वय र सहकार्य आवश्यक छ ।

२०८१ फाल्गुन २०, मंगलवार २१:३० प्रकाशित
ट्रेन्डिङ समाचार