भेप र सुन तस्करहरु धमाधम कारवाहीमा,८६ हजार थान भेप तस्करीको अनुसन्धान टुंगिदै


कठमाडौं
–भेप तस्करीमा संलग्न विरुद्ध ४ करोड ६६ लाखको मुद्धा
–भारतीय कपडा चोरी पैठारी गर्ने विरुद्ध ७ करोड २९ लाखको मुद्दा
–६० किलो चाँदी तस्करी गर्ने ३ विरुद्ध पनि कारवाही
–सुन तस्करी विरुद्ध पनि धमाधम करोडौका मुद्दा
काठमाडौं
राजश्व छली गरेर अवैध रुपमा सुन ल्याउने र विद्युतीय चुरोट(भेप)को तस्करी गर्ने तस्करहरुको माथि सम्मकै जालो खोज्न थालिएको छ । राजश्व अनुसन्धान विभागले भेप र सुन तस्करीको जालो माथि सम्मै फैलिएको हुन सक्ने भन्दै अनुसन्धानलाई तीव्रता दिएको छ । यसैक्रममा विभागले विहीबार भेपको अवैध ओसारपसारमा संलग्न रहेको भन्दै मुस्ताङका व्यवसायी घ्याप्चो गुरुङ विरुद्ध ४ करोड ६६ लाख १२ हजार विगो र विगो बराबरको जरिवाना माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सो तस्करीमा प्रत्यक्ष सहयोग गरेको पाइएपछि भन्सार कार्यालय मुस्ताङका कार्यालय सहयोगी टासी नर्वु गुरुङ विरुद्ध मुख्य अभियुक्त घ्याप्चोलाई हुने सजायको आधा सजायको माग दावी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
यसैगरी विभागले विहीबार नै भारतीय कपडा चोरी पैठारी गरी राजश्व छली गर्ने झापा भद्रपुरका सोनु कानु विरुद्ध ७ करोड २९ लाखको विगो र विगो बराबरको जरिमाना माग गर्दै मुद्दा दायर गरेको छ । यसैगरी विभागले विहीबार नै ६० किलो चाँदीको अवैध ओसारपसार गरी राजश्व छली गर्ने बारा कलैया बस्ने कर्मा साह विरुद्ध ९६ लाख ६० हजार विगो र विगो बराबरको जरिमाना माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको छ । सोही तस्करीमा संलग्न रहेका वीरगञ्ज बस्ने शंकर प्रसाद सोनार र कलैया बस्ने इन्द्रकुमारी परियार विरुद्ध पनि राजश्व छलीमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
राजश्व छली विरुद्ध मुद्दा दायर गर्ने क्रम बढाएपनि विभिन्न खाले हस्तक्षेप हुन सक्ने भएकाले सुन र भेप तस्करीको मुख्य योजनाकार खोज्न भने विभागका अनुसन्धान अधिकृतहरुलाई हम्मे पर्ने देखिएको छ । यद्यपि विभागले पछिल्लो समयमा भेप र सुन तस्करी गर्ने विरुद्ध अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको हो ।
विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले सुन र भेप तस्करीको जालो तोड्ने गरी अनुसन्धान केन्द्रित पारिएको बताउनुभयो । घिमिरेले सरकारका सरोकारवाला सबै निकाय तस्करी रोक्न कडाईका साथ लाग्ने हो भने तस्करीका सबै प्रकारका जालाहरु सहजै तोडिने स्पष्ट पार्नुभयो । उहाँले भेप तस्करी विरुद्ध आक्रामक कारवाही र अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
विभागले पछिल्लो समय सुन तस्करी गर्नेहरु विरुद्ध पनि लगातार मुद्दा दायर गर्दै आइरहेको छ । ‘सुन र भेपका तस्करहरुलाई निस्तेज पार्न सरकारका सबै सरोकारवाला निकाय याक्सनमा उत्रनु पर्छ । ’विभागका महानिर्देशक घिमिरेले नेपाल समाचारपत्र सँग भन्नुभयो ।
विभागले केहि समय अघि मात्रै ललितपुरको महालक्ष्मी नगरपालिका स्थित इमाडोलको एक गोदामबाट ८६ हजार थान भेप बरामद गरेको थियो । महानिर्देशक घिमिरेले ८६ हजार भेप बरामद भएको विषयलाई गम्भीर रुपमा लिएर अनुसन्धानलाई तीव्रता दिइएको र संलग्न पक्षको खोजतलासलाई व्यापक पारिएको बताउनुभयो । उहाँका अनुसार यस प्रकरणमा पनि अभियुक्त पत्ता लगाएर छिट्टै मुद्दा दायर गरिने छ । विभागका सुचना अधिकारी नवराज अधिकारीले विभागले केहि समय अघि पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरेको जानकारी दिनुभयो । अहिले पनि विभिन्न स्थानमा भेप तस्करी गरी भारत तर्फ पठाउने गरिएको अनुमान विभागका अनुसन्धान अधिकारीहरुले गरेका छन् । ‘तस्करहरुले नेपाललाई भेप तस्करीको ट्रान्जिट बनाउन खोजेको देखिन्छ , त्यसैले त्यस विरुद्धको अनुसन्धानलाई तीव्रता दिएका हौं । ’विभागका एक अनुसन्धान अधिकृतले भने ।
विभागका अनुसार चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाका मार्फत भेप आयात हुँदै आएको थियो । तर अहिले भने तस्करहरुले कोरला नाकाको पनि प्रयोग गरेका छन् ।
विभागले केहि समय अघि मात्रै सुन तस्करीमा संलग्न रसुवाका ५ जना विरुद्ध १९ करोडको मुद्धा दायर गरेको थियो । विभागले पछिल्लो ढेड महिनामा मात्रै विलविजक विना सुुन तस्करी गर्ने विभिन्न व्यक्तिहरु विरुद्ध ५० करोड ६० लाख भन्दा बढि र हदै सम्मको कैद सजायको माग दावी लिई अन्य व्यक्तिहरु विरुद्ध पनि मुद्धा दायर गरेको थियो । यसै अवधिमा विभागले भन्सार जाँचपास भई आएका र ट्रान्सपोर्टका ढुवानी साधनको चेकजाँच गर्दा मूल्यांकन, वर्गीकरण , गुणस्तर , परिमाण, फरक पारी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मलाई ८ करोड ३८ लाख जरिवाना तिराइएको जनाएको छ ।

 

 

 

२०८१ फाल्गुन ९, शुक्रबार २२:०१ प्रकाशित
ट्रेन्डिङ समाचार