थाइल्यान्ड र म्यानमारमा जागिरको लोभमा नपर्न सरकारको आग्रह,ठगिने क्रम बढ्दो


काठमाडौ
परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार यात्रासम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी)जारी गरेको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी थाइल्यान्ड र म्यानमारमा जान लागेका नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
यी मुलुकहरूमा देखिएको मानव बेचबिखन, ठगी तथा अन्य आपराधिक गतिविधिहरूका कारण नेपाली नागरिकहरू जोखिममा परिरहेको भन्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन भन्दै सचेत पारेको हो ।
मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा विशेष गरी सूचना प्रविधि (आईटी) क्षेत्रका आकर्षक रोजगारीका अवसरको लोभमा नेपालीहरू फस्ने गरेका घटनाहरू उल्लेख छन्। थाइल्यान्ड र म्यानमारमा उच्च तलब र सुविधा भएको भन्दै नेपाली युवाहरूलाई गलत तरिकाले फसाइने गरेको र उनीहरूलाई शोषणमा पारिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
पराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय थाइल्यान्ड हुँदै म्यानमारको जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती लगिएको नेपालीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपालीहरु ठगिने क्रम हवात्तै बढेको छ । नेपालीमाथि अमानवीय शोषणमा पारिएको, शारीरिक तथा मानसिक यातना भोग्नु परेको तथा बन्धक बनाइएका घटनाहरू सार्वजनिक भइरहेका छन् । मन्त्रालयले आकर्षक जागिर, राम्रो तलब तथा सुविधाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। त्यस्तै अवैध रूपमा यात्रा नगर्न तथा ठगी वा मानव बेचबिखनमा संलग्न गिरोहबाट बच्न पनि सर्वसाधारणलाई मन्त्रालयले सुझाव दिएको छ। मन्त्रालयले यस विषयमा थप जानकारी तथा सहायता आवश्यक परे नजिकको नेपाली दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

 

२०८१ फाल्गुन ८, बिहीबार १७:५० प्रकाशित
ट्रेन्डिङ समाचार