काठमाडौं
चालू आर्थिक वर्ष २०८१÷८२ मा १ खर्ब ७६ अर्ब ९६ करोड रुपियाँ ऋण थपिएसँगै मुलुकको सार्वजनिक ऋणको भार २६ खर्ब ११ अर्ब ६ करोड रुपियाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको सुरूवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँमा रहेको थियो । अहिले बढेर त्यति धेरै पुगेको हो ।
वि.सं. २०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख रहेकोे आधारमा प्रतिव्यक्ति ऋणको भार करिब ९० हजार रुपियाँ परेको पाइएको छ ।
कुल ऋणमध्ये आन्तरिकतर्फ १२ खर्ब ८२ अर्ब ८१ करोड १८ लाख र बाह्यतर्फ १३ खर्ब २८ अर्ब २५ करोड १४ लाख रहेको छ । विनिमय दरमा आएको परिवर्तनबाट ३६ अर्ब ५९ करोड दायित्व थप भएको छ ।सो अवधिमा सरकारले कुल २ खर्ब ९० अर्ब ५७ करोड ६४ लाख रुपियाँ ऋण लिएको भए पनि १ खर्ब ८८ अर्ब ७५ करोड २५ लाख रुपियाँ अर्थात् लक्ष्यको ४६ दशमलव ४५ प्रतिशत ऋणको साँवा ब्याज भुक्तानी गरेको छ ।
चालू आवमा सरकारले ५ खर्ब ४७ अर्ब रुपियाँ ऋण लिने लक्ष्यमा माघ मसान्तसम्म २ खर्ब ९० अर्ब ५७ करोड ६४ लाख लक्ष्यको ५३ दशमलव १२ प्रतिशत प्राप्त गरेको छ । आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्बको ऋण प्राप्त गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणको १ खर्ब २७ अर्ब २४ करोड ४२ लाख रुपियाँ साँवा र ३३ अर्ब ४५ करोड १० लाख ब्याज भुक्तानी गरेको छ । त्यस्तै बाह्य ऋणको साँवा २२ अर्ब ९६ करोड १३ लाख रुपियाँ र ब्याज ५ अर्ब ९ करोड ६१ लाख रुपियाँ भुक्तानी गरेको छ।
पछिल्लो एक दशकमा नेपालको सार्वजनिक ऋण तीव्र गतिमा वृद्धि हुँदै झन्डै अहिले २० खर्बले वृद्धि भएको हो ।
आव २०७१÷७२ मा ५ खर्ब ४० अर्ब रुपियाँ रहेको सार्वजनिक ऋण आव २०७२÷७३ मा ६ खर्ब १५ अर्ब पुगेको थियो भने आव २०७३÷७४ मा ६ खर्ब ९७ अर्ब, आव २०७४÷७५ मा ९ खर्ब १९ अर्ब, आव २०७५÷७६ मा १० खर्ब ४८ अर्ब, आव २०७६÷७७ मा १४ खर्ब ३३ अर्ब, आव २०७७÷७८ मा १७ खर्ब ३७ अर्ब, आव २०७८÷७९ मा २० खर्ब १० अर्ब, आव २०७९÷८० मा २२ खर्ब ९५ अर्ब र आव २०८०÷८१ म २४ खर्ब ३४ अर्ब रुपियाँ सार्वजनिक ऋण रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।


