–बढि भ्रष्टाचार अधिकृत स्तरका कर्मचारीबाट
– नीतिगत भ्रष्टाचार गर्ने उच्च पदस्थहरु जोगिन्छन्
काठमाडौं
राष्ट्रसेवकको दर्जामा रहेका निजामती कर्मचारीहरुमा भ्रष्टाचार गरी अकूत सम्पति आर्जन गर्न खोज्ने प्रवृत्ति बढेको छ । सुशासन दिने, देश र जनताको काम इमान्दारीतापूर्वक गर्ने शपथ खाएका राष्ट्रसेवकहरु धमाधम भ्रष्टाचार काण्डमा मुछिने क्रम बढेको हो । पछिल्ला तीन वर्षमा मात्रै भ्रष्टाचार गर्ने ११ सय ८६ जना कर्मचारी विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षेनी भ्रष्टाचार मुद्दा दायर गर्ने क्रममा राष्ट्रसेवक कर्मचारीहरु भ्रष्टाचारमा लीप्त हुने क्रम बढेको पाइएको हो ।
आयोगले गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै विभिन्न दर्जा र सेवा समुहका गरी ५ सय २० जना कर्मचारीहरुलाई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ३५६ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा ३१० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको प्रतिवेदनलाई विश्लेषण गर्दा आम कर्मचारीहरुले नारा र बोलीमा सुशासनका मीठा मीठा गफ हाँक्ने भएपनि व्यवहारमा भने उल्टो गर्दै भ्रष्टाचारमा लीप्त हुने क्रम घट्नुको साटो बढेको पाइएको हो ।
अख्तियारका अनुसार हरेक जसो वर्ष भ्रष्टाचार मुद्दा दायर गरिएका कर्मचारी मध्ये सबैभन्दा बढि शाखा अधिकृत तहका छन् । यसैगरी उपसचिव स्तरका कर्मचारीहरु पनि मुद्दा दायर हुनेमा उल्लेख्य संख्यामा रहेका छन् । नीतिगत तहको भ्रष्टाचारमा संलग्न हुने सचिव र सहसचिवहरु विरुद्ध भने भ्रष्टाचार मुद्दा दायर हुने क्रम न्यून छ । निजामती क्षेत्रमा भ्रष्टाचार मुद्दा दायर हुनेमा नायव सुव्वा स्तरका कर्मचारी पनि अत्यधिक नै रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।
विज्ञहरुका अनुसार सरकारका उच्च पदस्थ कतिपय कर्मचारीहरुले नीतिगत भ्रष्टाचारमा समेत संलग्न भएर अकूत सम्पति आर्जन गरेका छन् । त्यसैले अख्तियारले त्यस्ता कर्मचारीको पहिचान गरी अकूत सम्पतिमा छानबीन गनर््ुपर्ने विज्ञहरुको सुझाव छ ।
यस्तो छ ३ वर्षको भ्रष्टाचार मुद्धा दायर हुने क्रम
आव २०८०/८१ -५२०
आव २०७९/८० -३५६
आव २०७८/७९ -३१०
आचरण सम्वन्धि प्रावधान कुल्चदा भ्रष्टाचारको फन्दामा
राष्ट्रसेवक निजामती कर्मचारीले आफ्नो मार्गदर्शकको रुपमा रहेको निजामती सेवा ऐनकै महत्वपुर्ण प्रावधानको वेवास्ता गर्दा उनीहरु भ्रष्टाचार र अनियमितताको फन्दामा पर्ने क्रम बढेको पाइएको हो ।
कर्मचारीलाई कमाण्ड तथा सञ्चालन गर्ने मुख्य कानुन निजामती सेवा ऐन र नियमावली नै हो तर अधिकांश कर्मचारीले सो ऐन र नियमावलीलाई पुर्ण रुपले वेवास्ता गर्दै आइरहेको पाइएको छ । साथै राष्ट्रसेवक कर्मचारीले सरकारी सेवामा प्रवेश गर्दा देश र जनताको इमान्दारीतापुर्वक सेवा गर्ने कसम समेत खाने गरेका छन् तर उनीहरुले काम गर्दा भने त्यसरी खाएकोे सो कसमलाई आफै विर्सने गरेका छन् ।
विशेष गरि निजामती सेवा ऐनको परिच्छेद ७ मा कर्मचारीको आचरण सम्वन्धमा महत्वपुर्ण व्यवस्था गरिएको छ । आचरण ७ का विभिन्न दफामा कर्मचारीलाई अनुशासित, इमान्दार , कर्तव्यनिष्ट तथा सुशासनप्रेमी बनाउने गरि व्यवस्था गरिएको छ । तर अधिकांश कर्मचारीले सो परिच्छेद र महत्वपुर्ण दफालाई पुर्ण रुपमा वेवास्ता गर्ने गरेको देखिएको छ ।
कर्मचारीले आचरण सम्वन्धि प्रावधानलाई पालना गर्न नसक्दा उनीहरु विभिन्न खाले भ्रष्टाचार काण्डमा मुछिनु परेको हो । निजामती सेवा ऐनको परिच्छेद ७ को दफा ४७ मा कामको सिलसिलामा कुनै पनि कर्मचारीलाई दान, उपहार , चन्दा आदि प्राप्त गर्न र कुनै पनि सापटी लिन प्रतिवन्ध लगाइएको छ । सो दफामा त्यस खालका कुनै पनि गलत सुविधा नलिन कर्मचारीलाई भनिएको छ ।
यसैगरि दफा ४२ मा निजामती कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारीता र तत्परताका साथ पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।तर यस्ता अधिकांश प्रावधानलाई कर्मचारीले वेवास्ता गर्ने गरेको बताइएको छ ।
कर्मचारीहरुले आचरण सम्वन्धि प्रावधानलाई उल्लंङ्घन गर्न तालुृक निकायको रुपमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यस्ता कर्मचारीलाई अनुृगमन तथा कारवाही गर्न सकेका छैनन् । जसका कारण पनि दण्डहीनता मौलाउदा भ्रष्टाचार बढेको हो ।


