ADVERTISEMENT

लोकसेवा टिप्स : कर्मचारी आचरण सुधार


१. प्रशासन सुधार अन्तर्गत निजामती कर्मचारीको आचरण सुधारमा जोड दिन थालिएको पाइन्छ । कर्मचारीको आचरण सुधार गरी सेवा प्रवाहमा नागरिक सन्तुष्टिस्तर अभिवृद्धि गर्न सकिन्छ । यस तथ्यलाई मध्यनजर गर्दै नेपालमा निजामती कर्मचारीको आचरणमा सुधार ल्याउन के कस्ता उपाय अपनाउनु पर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

 आचरण सुधारले निजामती कर्मचारीमा रहेका खराब आचरणहरू त्याग गर्ने र सदाचारिता प्रवर्धन गर्ने प्रक्रियालाई बुझाउँछ । निजामती कर्मचारीको पेसागत, पदीय र व्यक्तिगत आचरणका नियमहरू निर्धारण गरिएको पाइन्छ । सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न, सेवा प्रवाहमा सुधार गरी नागरिक सन्तुष्टि हासिल गर्न तथा समाजमा निजामती सेवालाई सम्मानित सेवाको रूपमा परिचित गराउँदै नागरिकको सेवकका रूपमा स्थापित गर्न आचरणका नियमको परिपालना आवश्यक मानिन्छ । कर्मचारीको आचरण सुधार गरी सेवा प्रवाहमा नागरिक सन्तुष्टि अभिवृद्धि गर्न देहायका उपायहरू अपनाउन सकिन्छ ।

क) कानुनी सुधार र विद्यमान कानुनको परिपालना :

– राष्ट्रसेवकलाई नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने व्यवस्थासहितको कानुनी प्रबन्ध गर्ने,

– सङ्गठनको कार्यप्रकृति अनुरूप आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने,

– निजामती सेवाका कर्मचारीका आचरणसम्बन्धी नियमावली तथा राष्ट्रसेवकका लागि निर्धारण गरिएका आचारसंहिताको परिपालना गर्ने, गराउने,

– विभागीय सजायका कार्यविधिगत पक्षमा सुधार गर्ने,

ख) सुपरीवेक्षण, अनुगमन र मूल्याङ्कन :

– सदाचारिता, नैतिकता तथा मानवीय मूल्यको अवलम्बनलाई कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा दण्ड र पुरस्कारसँग आबद्ध गर्ने,

– आचरण र आचारसंहिता परिपालना दर बढाउन अनुगमन र मूल्याङ्कन कार्यलाई तीव्र बनाउने,

ग) प्रशिक्षण र जागरुकता :

– कर्मचारीलाई नियमित तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी नैतिकता, सदाचारिता र मानवीय मूल्यद्वारा प्रशिक्षित गर्ने,

– सार्वजनिक प्रशासनमा योग, ध्यान र अध्यात्मवादलाई क्रमशः आन्तरिकीकरण गर्दै लैजाने,

– कर्मचारीमा संवेगात्मक बौद्धिकताको विकास गराउने,

घ) नेतृत्व मूल्याङ्कन र विकास :

– विद्यमान नेतृत्व मूल्याङ्कन प्रणालीमा सुधार गर्ने,

– सार्वजनिक निकायलाई नैतिक सङ्गठनको रूपमा विकसित गर्न नैतिक र आदर्शवान् नेतृत्वको विकास गरी पदस्थापन गर्ने,

ङ) कर्मचारीको नैतिक आचरण र सामाजिक दायित्व प्रवर्धन :

– सामाजिक एवं सांस्कृति मूल्य मान्यताको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने,

– विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा नैतिकता र सदाचारितालाई स्थान दिने,

– कर्मचारीलाई सामाजिक सेवा र जनकल्याणका कार्यमा संलग्न गराउने,

च) संस्थागत क्षमता विकास र सक्रियता :

– राष्ट्रिय सतर्कता केन्द्रलगायतका निगरानी निकायको क्षमता विकास गरी सक्रियता बढाउने,

छ) प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली विकास गर्ने,

ज) पारदर्शी र जवाफदेही कार्यप्रणाली अवलम्बन गर्ने,

झ) नागरिक समाज सक्रिय भई प्रशासनिक विकृति अन्त्यका लागि निरन्तर खबरदारी गर्ने ।

– अन्त्यमा सरकारले प्रदान गर्ने सेवाप्रति नागरिकको सन्तुष्टिस्तर उच्च रहेमा सरकारप्रतिको नागरिक विश्वास र भरोसा बढेर जान्छ । सेवा प्रदान गर्ने निकायमा सदाचारी र नैतिकवान् कर्मचारीको उपस्थितिले सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढाउन मद्दत गर्छ । निजामती कर्मचारीलाई समाजको आदर्श र अनुकरणीय नागरिकको रूपमा पहिचान दिलाउनसमेत निजामती कर्मचारीको आचरण सुधारलाई महìव दिनु पर्छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार