काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइन आसपास क्षेत्रमा मापदण्ड विपरीत निर्माण भौतिक संरचना हटाउन निर्देशन दिएको छ ।
महानगरले सोमबार सूचना जारी गर्दै सरोकारवाला पक्षलाई यस्तो निर्देशन दिएको हो ।
विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोके बमोजिम मापदण्ड पालना गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै प्रसारण लाइन आसपासका भौतिक संरचना हटाउन महानगरले सूचना मार्फत भनेको हो ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘‘विद्यालयको भवन, घर, टहरा, कक्षाकोठा लगायत भौतिक संरचनाहरू देहालका मापदण्डभित्र पर्ने भएमा मापदण्ड विपरीतका संरचना तथा भागहरू सावधानीपूर्वक विद्यालय तथा घरधनी स्वयंले नै सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाई मापदण्ड पालना गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’
तोकिएको समयभित्र मापदण्ड विपरीतका संरचनाहरू नहटाएमा कानुन अनुसार कारबाही हुने चेतावनी महानगरले दिएको छ ।