काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्षमता प्रभावकारी नभएका मन्त्रीमाथि समीक्षा हुने भनी चेतावनी दिएका छन् ।
बुधबार भएको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षामा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
एकैपटक मन्त्रिपरिषद्लाई पूर्णता दिँदै ‘फूल गियरमा’ काम गर्ने हुटहुटी जगाएको वर्तमान एमाले–कांग्रेस गठबनधन सरकारले चार महिना बितिसक्दा समेत देखिने गरी काम गर्न नसकेकाे भन्दै उनले असन्तुष्टिसमेत प्रकट गरे ।
संसद्का ठूला दुई दल कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणसँगै केही समयका लागि स्थायी सरकार बन्ने र जनताले अपेक्षा गरेअनुसार कार्यप्रारम्भ हुने विश्वासमाथि सरकारको मौनताले पुनः प्रश्न गर्ने ठाउँ खडा गरेको छ ।
प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्ने भएकाले समीक्षा र बैठकहरूले मात्रै परिणाम नदिने हुँदा उत्पादन र परिवर्तनमा केन्द्रित हुन आग्रहसमेत गरे ।
‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौं भनेर सोच्नुपर्ने भएको छ । राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन । प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ,’उनले भने।