कामनपाका मेयर र उपमेयरबीच टकराव


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्टन्टबाजीको विरुद्ध उपमेयर सुनिता डंगोल र वडा अध्यक्षबीच भनाभन भएको छ ।

नेकपा एमालेले केही दिनअघि काठमाडौंमा गरेको कार्यक्रमलाई लिएर दुई पक्षबीच भनाभन भएको हो ।

मेयर साहको निर्देशनमा गएको शुक्रवार एमाले तीन जिल्ला समितिले दरबारमार्गमा आयोजना गरेको जागरणसभामा फोहोर संकलन नगरेको आरोपमा १ लाख रुपियाँको जरिवाना इमेल र हुलाकमार्फत एमालेलाई पठाएको थियो ।

यही विषयलाई लिएर मेयरको उपमेयर डंगोल र महानगरको समितिमा रहेका करिब ८ वडा अध्यक्षले विरोध गरेका छन्।

मेयर साहले एमालेलाई कारबाही गर्नुअघि उपमेयरलगायत वडाअध्यक्षसँग सल्लाह नगरी एमालेसँग बदला लिन एकलौटी निर्णय गरी पत्र पठाएको आरोप लागेको थियो।

बैठकमा उपमेयर डंगोलले एकलौटी निर्णय नगर्न आग्रह गर्दै टिमवर्कमा काम गर्न सुझाउनुभएको थियो ।

महानगरले यही २९ गते महानगर दिवस आयोजक समितिको बैठक राखेको थियो । बैठकमा मेयरविरुद्ध सबै खनिएका थिए । बैठकमा उपस्थित उपमेयर र समितिका अध्यक्षले सो जागरणसभामा एमालेले फोहोर गरे वा नगरेको विषयमा सीसीटिभी फुटेज हेरेर कस्तो कारबाही गर्ने कति जरिवाना लिने भन्ने विषयमा निर्णय गर्ने भएको छ ।

मेयर साह अझै पनि १ लाख जरिवाना तिराउने प्रयास छन् ।  एमाले नेताहरूले भने बालेन्द्रको प्रोपोगान्डाको संज्ञा दिइरहेका छन् । एमालेको सभालगत्तै महानगरले जरिवानाको पत्र पठाएको थियो भने दुई दिनपछि पार्टीको मुख्यालयमै अर्को पत्र दिन गएको थियो । एमालेले कार्यक्रम स्थलमा संकलन गरिएको फोहोर ढुवानी गर्न कामपासँग सवारी साधन माग गरेको बताइरहेको छ।

सो विषय सकिएलगत्तै महानगर दिवसमा कसलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा समेत विवाद भएको थियो ।

२०८१ मंसिर १२, बुधबार १५:२६ प्रकाशित
ट्रेन्डिङ समाचार