काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अनाथ बस्नु नपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् । सो क्रममा उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढंगले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए।
“अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन,” प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, “त्यसका निम्ति राज्य छ र सरकार छ।”
वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उनले उल्लेख गरेका छन् । देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको वर्तमान सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने उनले स्पष्ट पारेका छन् । उनले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।
“यहाँसम्म आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य र समाज सञ्चालनको एउटा अभिन्न अंगका रूपमा बुझिरहेका छौँ र तीअनुसारको व्यवहार गरिरहेका छौँ,” प्रधानमन्त्री ओलीले भनेका छन्।
हरेक नागरिक आफूले पनि सामाजिक सुरक्षाको सन्दर्भमा योगदान गर्नुपर्छ भनेर सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढाएको उनले जानकारी दिए।