काठमाडौं। काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई १ लाख रुपियाँ जरिवाना तिराएको छ ।
फोहर विसर्जनको लागि प्रयोग गरेको बा १ ग ३०२१ नम्बरको फोहरमैला बोक्ने ट्रिपरले यही मङ्सिर ६ गते बन्चरेडाडामा फोहरमैला विसर्जन गर्ने क्रममा फोहरमैला व्यवस्थापन ऐन २०६८ फोहरमैला व्यवस्थापन नियमावली २०७० एवं काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ ले निषेध गरेको स्वास्थ्यसंस्थाजन्य हानिकारक फोहरमैला विसर्जन गरेको पाइएपछि ललितपुर महानगरपालिकालाई कारबाही स्वरूप १ लाख रुपियाँ जरिवाना गरेको हो।
‘फोहर विसर्जनको लागि प्रयोग गरेको बा १ ग ३०२१ नम्बरको फोहरमैला बोक्ने ट्रिपरले मिति २०८१ मङ्सिर ६ गते बन्चरेडाडामा फोहरमैला विसर्जन गर्ने क्रममा फोहरमैला व्यवस्थापन ऐन २०६८ फोहरमैला व्यवस्थापन नियमावली २०७० एवं काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ ले निषेध गरेको स्वास्थ्यसंस्थाजन्य हानिकारक फोहरमैला विसर्जन गरेको पाइएकोले काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (ट) अनुसारको कसुरको आधारमा सोहि ऐनको दफा ५२ (ज) ले तोकेको रु. एक लाख जरिवाना तहाँ कार्यालयले यस काठमाडौं महानगरपालिकाको तपशिलमा उल्लेखित खातामा पत्राचार मितिले तिन दिन भित्र जम्मा गरी लिखित जानकारी पठाउनु हुन अनुरोध छ ।’ कामपा वातावरण व्वस्थापन विभागका निमित्त प्रमुख सरिता राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। साथै आउँदा दिनमा यस किसिमका कसुर नगर्न नगराउनु पनि महानगरले अनुरोध गरेको छ।
ललितपुर महानगरपालिकाले पत्र बुझेपछि फोहोरमैला व्यवस्थापन गर्ने आधिकारिक निकायका बारेमा प्रश्न गरेको थियो । सो विषयमा ललितपुर महानगरपालिकाले शहरी विकास मन्त्रालयसंग समेत फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौँ महानगरपालिका हो कि ? शहरी विकास मन्त्रालय भन्दै प्रश्न उठाएको थियो । तर शहरी विकास मन्त्रालयले ल्याण्डफिल साइट सञ्चालन र व्यवस्थापन गर्ने अधिकार कामपालाई दिएको थियो । सोही अनुसार विभागले कारबाही गरेको विभागको भनाई छ ।