राजस्व वृद्धिका लागि अहोरात्र जुट्न अर्थमन्त्रीको निर्देशन


राजस्व संकलन अपेक्षित हुन नसकेको भन्दै असन्तुष्टि

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन कार्यमा उल्लेख्य सुधार ल्याएर राजस्व संकलन वृद्धि गर्ने कार्यमा अहोरात्र जुट्न राजस्व प्रशासनमा कार्यरत सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनमा अपेक्षितरूपमा सुधार आउन नसकेकाले आगामी दिनमा राजस्व संकलन वृद्धि गरेर जानुको विकल्प नभएको बताए ।

आन्तरिक राजस्व विभागले शनिबार १३ औं राष्ट्रिय कर दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्ला महिनामा विगतको वर्षमा जति पनि राजस्व संकलन हुन नसक्नु दुखद् भएको बताए ।

 

उनले कर प्रशासनमा कार्यरत कर्मचारीप्रति असन्तुष्टि व्यक्त गर्दै सामान्य किसिमले काम गरेर दिन खेर फाल्ने समय नभएकाले अहोरात्र खटेर परिणाम निकाल्नुपर्ने आवश्यकता औल्याए । मन्त्री पौडेलले राजस्व वृद्धि गर्न सरकारका सबै सरोकारवाला निकायबीच समन्वयत्मक र एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।

अर्थमन्त्री पौडेलले कर प्रशासनमा कार्यरत कुनै पनि कर्मचारीबाट करदातालाई दुख दिने, कुशासनयुक्त कार्य गर्ने र जिम्मेवारी अनुसारको काम गरेको नपाइएमा कडा कारवाही हुने चेतावनी दिए ।

मन्त्री पौडेलले कुनै कर्मचारीबाट व्यवसायीलाई दुःख दिने तथा बार्गेनिङ गर्ने प्रयास गरेमा तत्काल सूचना दिन आग्रह गर्दै त्यस्ता कर्मचारीलाई ठाउँका ठाउँ कारवाही गरिने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री पौडेलले कर प्रशासन र करदाताबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने र एकले अर्कालाई विश्वास र सम्मान गर्नुपर्ने आवश्यकता औल्याए । उनले निजी क्षेत्रले पनि कुनै किसिमको गलत र फ्रड कार्य नगरी जिम्मेवारीपूर्वक कर तिर्नुपर्नेमा जोड दिए ।

विभागका महानिर्देशक रामप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आर्थिक अवस्था दयनीय भएको भाष्य सिर्जना गर्न नहुने बताउँदै मुलुकको आर्थिक अवस्था सुधारोन्मुख भएकाले निराश हुन नहुने स्पष्ट पारे ।

‘हामीले महाभूकम्प, कोभिड, बाढीपहिरोजस्ता ठूलाठूला महाविपद्को अवस्था भोग्नु पर्दा समेत आर्थिक अवस्थालाई ड्यामेज हुन दिएनाँै, यो हाम्रा लागि सुखद हो, अब सबै मिलेर आर्थिक अवस्थालाई थप चलायमान बनाउनु अहिलेको अहम् आवश्यकता हो,‘सचिव घिमिरेले भने ।

उनले कर प्रशासनमा काम गर्ने कर्मचारीले हाकिम शैलीमा नभएर सेवकको रूपमा जनताको काम गर्नुपर्ने आवश्यकता औल्याए । यसैगरी कार्यक्रममा बोल्दै राजस्व सचिव दिनेश घिमिरेले नीजि क्षेत्रलाई साथमा नलिइकन मुलुक अघि बढ्न सक्दैन भन्ने तथ्यलाई आत्मसात गरिएकाले सरकार नीजि क्षेत्रलाई साथ लिएर अगाडि बढिरहेको स्पष्ट पारे ।

राजस्व सचिव घिमिरेले राजस्व वृद्धि गर्नका लागि निजी क्षेत्र र नागरिकबाट आउने सुझावलाई ग्रहण गर्दै अर्थ मन्त्रालय र कर प्रशासनअघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व वृद्धि गर्ने उद्देश्यका साथ कर प्रशासनलाई नवप्रवद्र्धनात्मक किसिमले परिचालन गर्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको जानकारी दिए । कार्यक्रममा बोल्दै विभिन्न व्यावसायिक संगठनका प्रतिनिधिले राजस्व संकलन कार्यमा सामूहिक र एकताबद्ध प्रयास आवश्यक रहेको र राजस्व प्रशासन सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा गतवर्ष विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने सबैभन्दा बढी कर उठाउने तीन कर कार्यालयलाई पुरस्कृत गरिएको थियो । साथै उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

२०८१ मंसिर १, शनिबार १८:१९ प्रकाशित
ट्रेन्डिङ समाचार