काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार बौद्ध विहार संघ ललितपुरको अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
धर्म निरपेक्ष हाम्रो मुलुकमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थाअनुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रूपमा स्वीकार्य गर्न नसकिने उनको भनाइ छ ।
प्रधानमन्त्रीले भने, “बुद्ध धर्म र उनका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नुहुँदैन । बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवको हिंसा नगर भन्ने बुद्धवादको सार हो । बुद्ध धर्मका शिष्यहरू नै यस धर्मका रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ । त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुण, स्नेह र मानवीयता छ । निःस्वार्थपन छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्छ ।’’


