काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई निर्देशन दिएका छन् ।
बिहीबार नेपाली सेना प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित चारदिने कानुनी गोष्ठी समापनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
सेनामा कार्यरत कानुन अधिकृतको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष उक्त गोष्ठी आयोजना हुँदै आएको छ ।
प्राड विवाकका महानिर्देशक उपरथि जीवनप्रसाद दाहाल, पूर्वप्रमुखहरू, नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि, उच्च अदालतका पूर्वन्यायाधीशलगायत विषय विज्ञबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
२०८१ कार्तिक २९, बिहीबार २१:१६ प्रकाशित

