काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाएका छन् ।
भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगे हवाई भाडावृद्धिका बारेमा छलफल गरेका हुन् ।
सो अवसरमा वैदेशिक रोजगारीमा जानेहरुका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरुले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नुपर्ने कुरामा जोड दिएका छन् ।


