काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले म्यानपावर कम्पनीको प्रभावमा पर्दै श्रमिकहरूलाई मार पर्ने गरी सेवा शुल्क वृद्धि गर्ने गृहकार्य थालेको खुलासा भएको छ ।
मन्त्रालयको एक स्रोतका अनुसार मन्त्री भण्डारीकै निर्देशनमा श्रमिकले म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्क १० हजारबाट बढाएर ५० हजार वा त्योभन्दा बढी पुर्याउने प्रपञ्च थालिएको छ ।वैदेशिक रोजगार ऐनमा विदेश जाने श्रमिकबाट मेनपावर कम्पनीले नेपाल सरकारले तोकेबमोजिम सेवा शुल्क लिन पाउने प्रावधान छ।
सोअनुसार अहिले वैदेशिक रोजगारमा जाने हरेक श्रमिकले सरकारले तोकेअनुसार सेवा शुल्कबापत १० हजार रुपियाँ तिर्दै आएका छन्।
तर, श्रम मन्त्रालयले अब सो प्रावधान परिवर्तन गरी श्रमिकहरूले एक महिना बराबरको तलब सेवाशुल्कबापत तिर्न पर्ने गरी प्रावधान राख्ने र सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सरकारले श्रमिकको पक्षमा निर्णय गर्नुपर्नेमा म्यानपावर कम्पनीलाई नै फाइदा पुग्ने गरी निर्णय गरेमा त्यो सरकारका लागि आत्मघाती हुने सक्ने अधिकारीहरूले बताएका छन् ।
उता, विभिन्न म्यानपावर कम्पनीले श्रमिकहरूसँग विभिन्न बहानामा अतिरिक्त पैसा उठाएर ठगी गरेको भन्ने उजुरी मन्त्रालयमा आए पनि त्यस्ता उजुरीहरूको छानबिन गरी ठगी गर्ने म्यानपावर कम्पनीमाथि कारबाही गर्ने विषयमा मन्त्री भण्डारीले आँखा चिम्लने गरेको पीडित श्रमिकहरूको गुनासो छ।