सार्वजनिक सेवामा आकर्षण बढाउन इन्टर्नसिप


काठमाडौं । युवा पुस्ताको सार्वजनिक सेवामा आकर्षण बढाउन सरकारले सार्वजनिक सेवामा इन्टर्नसिपको व्यवस्था गरिरने भएको छ।

मुख्यसचिव एकनारायण अर्यालको योजनाअनुसा विभिन्न विषयहरू अध्ययन गरेका विश्वविद्यालयका स्नातकहरूलाई सम्बन्धित क्षेत्रमा कार्य गर्न सक्ने गरी इन्टरर्नसिपको व्यवस्था गर्न लागिएको हो।

सो कार्यक्रममा स्नातक गरेर बेरोजगार भई बसेका युवाहरूलाई सहभागी गराइने भएको छ ।

सोमबार मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले इन्टर्नसिप सम्बन्धमा स्ट्यान्डर्ड फरमेट बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेको छ।

सो कार्यदलका राष्ट्रिय योजना आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरू सदस्यका रूपमा रहेका छन् भने सूचना प्रविधि विभागका महानिर्देशक सदस्य सचिव रहने छन् । कार्यदलले १० दिनभित्रमा स्तरीकृत ढाँचा बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने छ । सो प्रतिवेदनका आधारमा सरकारले स्नातक गरेर बेरोजगार बसेका युवाहरूलाई इन्टर्नसिपमा ल्याउने छ ।

विशेष गरी विकास निर्माण कार्य, सेवा प्रवाह, भौतिक पूर्वाधार निर्माण, आईटी क्षेत्र, शैक्षिक संस्थालगायतमा ती युवालाई राखिने छ। त्यसरी राखिने युवाहरूलाई निश्चित पारिश्रमिकसमेत दिइनेछ। सार्वजनिक सेवामा इन्टर्नसिपमा आएका फ्रेस युवाहरूबाट यहाँ रहेका कर्मचारीहरूले नयाँ प्रविधिहरू सिक्न सक्नेछन् भने इन्टर्नसिपमा आएकाहरूले निजामती सेवामा रहेकाहरूबाट सार्वजनिक सेवामा काम गर्ने तौरतरिकाहरूसमेत सिक्नेछन्।

मुख्य सचिव अर्यालले निजामती सेवामा युवा पुस्ताको आकर्षण वृद्धि गर्न, युवा पुस्ता र निजामती सेवाबीच बढ्दै गएको ग्याप कम गर्न तथा युवा पुस्ताको काम गर्ने शैलीलाई सार्वजनिक सेवामा अन्तरघुलन गराउने उद्देश्यले इन्टर्नसिपसम्बन्धी व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

पछिल्लो समय निजामती क्षेत्रमा युवा पुस्ताको आकर्षण खासै बढ्न सकेको छैन । जसका कारण फ्रेस जनशक्ति निजामती सेवामा भित्रने क्रम निकै कम छ । इन्टर्नसिपसम्बन्धी व्यवस्थाले विभिन्न विषयमा स्नातक गरेका दक्ष र फ्रेस युवा पुस्तामा निजामती सेवाप्रति आकर्षण बढ्ने विश्वास रहेको बताउँदै मुख्यसचिव अर्यालले सार्वजनिक सेवामा रहेका र इन्टर्नसिपमा रहेका बीच काम गर्ने शैली र प्रवृत्तिको आदानप्रदान हुने र त्यसले नतिजा राम्रो आउन सक्ने  जानकारी दिनुभयो।

 

२०८१ कार्तिक ६, मंगलवार १०:३७ प्रकाशित
ट्रेन्डिङ समाचार