स्वदेश फर्कियो काभा यु-२० पुरुष भलिबलको उपविजेता नेपाली टोली


काठमाडौं। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका र जमरा लगाइ दिएका थिए । यस्तै संघका पदाधिकारीले खेलाडीहरुलाई दशैँको टीका समेत लगाइदिए ।

पहिलो पटक भएको काभा यु-२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपिजेता बनेको थियो ।

फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा उज्वेकिस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

नेपालले पहिलो सेट टाइब्रेकमा २७-२५ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि भने उज्वेकिस्तान खेफमा हावी बन्यो र २५–१०, २५–१६, २५–२० ले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

६ टोली सहभागि प्रतियोगितामा उज्वेकिस्तान अपराजित रहेर च्याम्पियन बन्यो । लिग चरणमा उज्वेकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको थियो । लिग चरणमा पनि नेपाल उज्वेकिस्तानसँग पराजित रहेको थियो ।

२०८१ आश्विन २७, आईतवार १५:०४ प्रकाशित
ट्रेन्डिङ समाचार