काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र गृह मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य फेला परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारविरुद्ध परेका उजुरीको विश्लेषण यस्तो तथ्य पत्ता लागेको हो ।
अख्तियारले आफ्नो चौतिसौं वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने संघीय सरकारका १० मन्त्रालय उल्लेख गरेको छ। अख्तियारमा परेका उजुरीहरू विश्लेषण गर्दा ती १० मन्त्रालय र मातहतका निकायमा बढी भ्रष्टाचार हुने गरेको पाइएको हो। यसै गरी भ्रष्टाचारको उजुरी परेको चौथो मन्त्रालयमा अर्थ मन्त्रालय, पाँचौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, छैटौंमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सातौंमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, आठौंमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नवौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दशौंमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा यी १० मन्त्रालय र मातहतका निकायमा अन्यमा भन्दा भ्रष्टाचारका बढी उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार गत वर्ष भूमि व्यवस्था मन्त्रालय र मातहतका निकायका विरुद्ध भ्रष्टाचारका १७ सय ४८ वटा उजुरी परेका थिए।