जनप्रतिनिधिको लापरबाहीका कारण गोदावरी कुरुप बन्दै


काठमाडौं ।  सरकारले गोदावरी नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।  सुन्दर हराभरा, रमाइलो, घमाइलो ऐतिहासिक क्षेत्र गोदावरीले आफ्नो पहिचान दिनप्रतिदिन गुमाउँदै गएको छ । स्थानीयका अनुसार नगरले आफ्नो  सौन्दर्यता गुमाउनुको मुख्य कारण  गोदावरी नगरपालिकाकै जनप्रतिनिधिको गलत रबैया र भ्रष्ट प्रवृत्ति हो ।

गोदावरी नगरपालिकाका जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा ललितपुरकै लेले र नल्लुमा जथाभाबी क्रसर सञ्चालन गर्दा वातावरण विनाश भई इकोसिस्टममा नै खलल पुग्दा त्यस क्षेत्रमा ठूलो पहिरो आएको र नल्लुको गेगरान तथा लेदोसहितको बाढीले नख्खु खोलालाई निकै अशान्त बनाएको स्थानीयको भनाइ छ।

नल्लु, लेलेमा आएको बाढी पहिरो र नख्खु खोलाले ल्याएको संकटका कारण आफूहरूले भयावह संकट व्यहोर्नुपरेको नल्लु र नख्खु क्षेत्रका स्थानीयको गुनासो छ।

गत असोज ११ र १२ गतेको भीषण वर्षापछि ललितपुरको गोदावरी नगरपालिकास्थित नल्लु खोलामा गेगरान र लेदोसहितको बाढी आयो र त्यसले ठूलो क्षति पुर्‍यायो। विभिन्न स्थानमा पहिरोसमेत गयो। ललितपुरमा मात्रै बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भइसकेको छ भने अन्य केही अझै बेपत्ता छन् । हजारौं व्यक्तिहरू विस्थापित भएका छन् भने अर्बौंको भौतिक क्षति हुन पुगेको छ।

यी सबैको कारण नल्लु र लेले क्षेत्रमा नै वर्षौंदेखि सञ्चालनमा रहेका अवैध क्रसर, खानी र जथाभाबी रूपमा हुँदै आएको उत्खनन रहेको स्थानीयको विश्लेषण छ। नल्लु क्षेत्रमा बसोबास गर्दै आइरहेका ७०–८० वर्षका वृद्धवृद्धाहरू नल्लु खोलामा लेदोसहितको बाढी आएको इतिहासमा नै पहिलोपटक भएको बताउँछन्। उनीहरूका अनुसार यसअघि २०३८ सालमा नल्लु खोलामा ठूलो बाढी आए पनि यति धेरै भौतिक तथा मानवीय क्षति भएको थिएन।

स्थानीय स्थानीय स्थानीय हरिप्रसाद शर्माले क्रसर उद्योगी र स्थानीय जनप्रतिनिधिले बर्बाद पारेको बताए ।

उनका अनुसार केही वर्ष अघिसम्म खानी र क्रसर सञ्चालन नहुँदा नल्लु र लेले क्षेत्रको सुन्दरता र रौनकता छुट्टै थियो तर अहिले त्यो सबै सुन्दरता एकाएक हराएपछि स्थानीय बासिन्दाहरू पनि चिन्तित र आक्रोशित बनेका छन्। यस्तै सीता खनालले पनि नल्लु र लेलेलाई यसरी चिथोरेर घाइते बनाएको बताउँदै पुरानै अवस्थामा फर्काउन ५०औं वर्ष लाग्ने बताइन् ।

 

 

२०८१ आश्विन २०, आईतवार १०:२० प्रकाशित
ट्रेन्डिङ समाचार