
काठमाडौं- दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ ।
मनसुनको समेत प्रभाव कायम रहेकाले आज पूर्वी र मध्य भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान छ ।
आज हिजोको तुलनामा धेरै ठाउँमा प्रभाव देखिने मौसमविदले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै कोशी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।