
थाइल्याण्डमा भएको एडीपीसी बैठकमा नेपालको दरो सहभागिता
काठमाडौं । प्राकृतिक प्रकोप न्यूनीकरण, तयारी ,व्यवस्थापन र साझा सहकार्यका क्षेत्रमा कार्यरत एसियन डिस्यास्टर प्रिपियर्डनेस सेन्टर(एडीपीसी) को पाँचौँ बैठक थाइल्याण्डको बैंककमा बिहीबारदेखि शुरू भएको छ ।
एडीपीसीमा नेपाललगायत चीन, भारत,थाइल्याण्ड,फिलिपिन्स,पाकिस्तान,श्रीलंका,बंगलादेश र कम्बोडिया सदस्य राष्ट्रका रूपमा रहेका छन् ।
सबै सदस्य राष्ट्रका उच्चपदस्थको सहभागिता रहेको सो बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको उच्च पदाधिकारीहरूको टोलीले सशक्त सहभागिता जनाइरहेको छ ।
नेपाली टोलीको नेतृत्व गरिरहेका गृहसचिव अर्यालले बैठकको पहिलो दिन नेपालमा प्रकोप न्यूनीकरण, व्यवस्थापन र प्रकोपपूर्वको तयारीका लागि सबसेन्टर खोल्नुपर्ने प्रस्ताव अघि सारे । साथै, गृहसचिव अर्यालले विपद् व्यवस्थापनमा आवश्यक सहकार्य गर्ने विषयलाई पनि छलफलमा राखे ।
गृहसचिव अर्यालले राखेकाे एजेन्डा र छलफलका विषयमा सहभागी अन्य राष्ट्रहरू सकारात्मक देखिएका छन् । बैठक शुक्रबारसम्म चल्ने जनाइएको छ ।
एडीपीसीले यस क्षेत्रमा संकटकालीन व्यवस्थापन, विपद् व्यवस्थापन,विपद् जोखिम न्यूनीकरण,क्षमता विकास, तालिम र जनशक्ति व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र साझा सहकार्य तथा विभिन्न सहयोग आदान प्रदानका विषयमा काम गरिरहेको छ । हाल यसको अध्यक्ष राष्ट्रको रूपमा भारत रहेको छ र नेपाल भाइस अध्यक्षको रूपमा मनोनयन भएको छ । यससँगै आगामी २०२५ मा नेपाललाई स्वतः एडीपीसीको अध्यक्षता ग्रहण गर्ने बाटो खुलेको छ ।
यसबाट नेपाललाई विपद् व्यवस्थापनमा प्राविधिकलगायत विविध विषयमा सहयोग प्राप्त हुने र नेपाल थप लाभान्वित हुने बताइएको छ । गृहसचिव अर्याल नेतृत्वको नेपाली टोलीको शसक्त सहभागिता तथा बैठकमा उठाइएका महत्वपूर्ण विषयका कारण एडीपीसी बैठकमा अन्य सदस्य राष्ट्रहरूले नेपालको भूमिकालाई उच्च ‘नोटिस’मा राखेको बताइएको छ ।