लोकसेवा परीक्षा तयारी/टिप्स ( विषयगत प्रश्नोत्तर )


१. सार्वजनिक निकायका काम कारबाहीहरुलाई खुला र पारदर्शी तुल्याउने तरिकाहरु के के हुन् ? पारदर्शिताको प्रबर्द्धनमा सूचना अधिकारी र प्रवक्ताको भूमिकाको चर्चा गर्दै यी दुई विचको भिन्नता स्पष्ट पार्नुहोस् ।

पृष्ठभूमि
 सार्वजनिक निकायहरुलाई सेवा प्रदायक संयन्त्र र सहजकर्ताको रुपान्तरण गरी नागरिकलाई छिटो, छरितो गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न खुला र पारदर्शी कार्यशैली एवं कार्यसंस्कृतिको जरुरत पर्दछ ।
 प्रवक्ता एवं सूचना अधिकारीलाई पारदर्शिता प्रबर्द्धन र सुशासन कायम गर्ने माध्यमको रुपमा लिन सकिन्छ ।
सार्वजनिक निकायका काम कारबाहीहरुलाई खुला र पारदर्शी तुल्याउने तरिकाहरु
 प्रशासनिक कार्य गर्दा निश्चित कार्यविधि अवलम्वन गर्ने
 निर्धारित र निश्चित समयावधिभित्र निर्णय गर्ने
 निर्णय गर्दा पारदर्शिता कायम गर्ने
 निर्णय गर्दा आधार र कारण खुलाउने

 सार्वजनिक चासोको विषय कार्यान्वयन गर्दा सरोकारवाला तथा नागरिक समाजसँग परामर्श गर्ने
 सार्वजनिक पदाधिकारीहरुले आफ्नो जिम्मेवारी नपन्छाउने
 कानूनमा तोकिएका पदीय वा पेशागत आचरण पालना गर्ने
 पदीय उत्तरदायित्व निर्वाह गर्ने
 क्षतिपुर्ति सहितको नागरिक बडापत्र लागु गर्ने
 प्रभावकारी सेवा प्रवाह गर्दा घुम्ति सेवा संचालन गर्ने
 सेवा प्रबाह गर्ने निकायले न्यायोचित ढंगले सेवा शुल्क तोक्ने

 जनतालाई लाभ पुग्ने लगायतका कार्यक्रम संचालन गर्दा जनताको सहभागिता र स्वामित्वको प्रबन्ध गर्ने
 सार्वजनिक सुनुवाईको व्यवस्था गर्ने
 नागरिकका गुनासो व्यवस्थापन गर्ने
 आफ्नो निकायको अभिलेख व्यवस्थाका लागि कम्प्युटरकृत प्रणाली लागू गर्ने
 आफ्नो बार्षिक प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने
 प्रवक्ता र सूचना अधिकारीको अनिवार्य व्यवस्था गर्ने
 हरेक तिन महिनामा सार्वजनिक निकायका सूचनाहरु स्वत: प्रकाशन गर्ने
 आम सञ्चारका माध्यम, सामाजिक सञ्जाल तथा कार्यालयको नियमित प्रकाशनद्वारा आफ्नो निकायका काम कारबाही सार्वजनिक गर्ने

सूचना अधिकारीको भूमिका
 नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्ने गराउने
 सूचना वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रशारण गराउने
 सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने
 आफ्नो काम कारबाही खुला र पारदर्शी बनाउने
 उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने

 ऐन बमोजिम प्रवाह गर्न मिल्ने र नमिल्ने सूचना भए प्रवाह गर्न मिल्ने सूचना छुट्याएर निवेदकलाई उपलब्ध गराउने
 सूचना प्रवाह गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आमसञ्चार माध्यमबाट गर्ने
 ऐन लागु हुनुभन्दा विस वर्ष अगाडिका सूचना अद्यावधिक गर्ने
 आफ्नो निकायसँग सम्बन्धित सूचना सुचिकृत गरी प्रत्येक ३ महिनामा स्वत सार्वजनिक गर्ने प्रकाशन गर्ने
 आफ्नो कार्यालयको सूचना स्वत प्राप्त गर्ने
 सुचना शाखाको प्रमुखको रुपमा कार्य गर्ने

प्रवक्ताको काम, कर्तब्य र अधिकार
 आफ्नो निकायसँग सम्बन्धित नीति योजना कार्यक्रम र सो को कार्यान्वयनको प्रगितको सम्बन्धमा विभिन्न सञ्चारमाध्यम मार्फत जनतालाइ जानकारी गराउने
 सार्वजनिक महत्वका विषय सम्बन्धी यथार्थ विवरण लिन चाहने पत्रकार वा सञ्चार माध्यमका प्रतिनिधिलाई त्यस्तो विवरण उपलब्ध गराउने वा उपलब्ध गराउन सघाउ पुर्याउने ।

 आफ्नो निकायबारे असत्य, भ्रामक वा निराधार कुरा सञ्चार माध्यममा प्रचारमा आएमा सो सम्बन्धमा स्पष्ट गर्ने गराउने ।
 सार्वजनिक चासोको विषयमा प्रतिक्रिया वा दृष्टिकोण जान्न चाहने पत्रकार वा आमसञ्चारका प्रतिनिधिलाई त्यस्तो प्रतिक्रिया वा दृष्टिकोण उपलब्ध गराउने
 सम्बन्धित निकायको काम कारवाहीका सम्बन्धमा आवश्यकता अनुसार विज्ञप्ति जारी गर्ने वा अन्य तरीकाद्वारा प्रचार प्रसार गर्ने गराउने
 सञ्चार माध्यमका प्रतिनिधि र कार्यालयबीच सम्पर्क माध्यमको रुपमा काम गर्ने गरी प्रमुख सम्पर्क विन्दु (Focal point) रुपमा काम गर्ने
 सञ्चारमाध्यमसँग नियमित रुपमा सम्पर्क राख्ने

सूचना अधिकारी र प्रवक्ताविचको भिन्नता
 सूचना अधिकारीमार्फत सूचना प्राप्त गर्न लिखित रुपमा निवेदन दिएर तोकिएको कार्यविधि पुरा गर्नुपर्दछ भने प्रवक्ताले लिखित, मौखिक वा प्रेस विज्ञप्ति मार्फत सूचना प्रवाह गर्न सक्दछ ।
 सूचना अधिकारीले आफ्नो कार्यालयको सूचना प्रवाह गर्दछ भने साथै प्रवक्ताले आफ्नो निकायको बारेमा उठेका प्रश्न एवं भ्रमहरु निवारण गर्ने गर्दछ ।
 सूचना दिन अस्विकार गर्ने, बदनियतपुर्वक सूचना नदिने, गलत वा अपुर्ण सूचना दिने सूचना अधिकारीलाई विभागीय सजायको व्यवस्था गरिएको छ भने प्रवक्तालाई विभागीय सजायको व्यवस्था गरिएको छैन् ।

 प्रत्येक मन्त्रालय विभाग सरकारी निकाय एवं कार्यालयले आफ्नो काम कारबाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्ने कानूनी व्यवस्था रहेको छ भने सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेका सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्ने कानुनी प्रावधान रहेकोमा कुन तहको कर्मचारी आवश्यक पर्ने भन्ने विषय खुलाइएको छैन् ।
 सूचना अधिकारी मार्फत सूचना प्राप्त गर्न आवश्यक कानूनी कार्यविधि तोकी उजुरी र पुनरावेदनको समेत व्यवस्था गरिएको छैन् भने प्रवक्तामार्फत सुचना प्राप्तिको कानूनी कार्यविधि तोकिएको छैन् ।

 सबै सार्वजनिक निकायहरुमा सूचना अधिकारीको व्यवस्था गरिएको छ भने सबै सार्वजनिक निकायहरुमा प्रवक्ताको व्यवस्था गरिएको छैन् ।
 सूचनाको हक सम्बन्धी संवैधानिक एवं मौलिक हकको कार्यान्वयन गरी सूचनाको हकको प्रचलन गराउन सूचना अधिकारीको व्यवस्था गरिएको हो भने पारदर्शिता प्रवर्द्धन र सुशासन कायम गर्न सुशासन ऐनको व्यवस्था बमोजिम प्रवक्ताको व्यवस्था गरिएको हो ।
 सूचना अधिकारीले प्रक्रियागत रुपमा सूचना माग गरेको अवस्थामा सूचना उपलब्ध गराउदछ भने प्रवक्ताले आफ्नो निकायका काम कारबाही, निर्णय, नीति र निर्देशनबारे नियमित रुपमा सार्वजनिक जानकारी गराउँदछ ।

 प्रवक्ताको काम, कर्तब्य र अधिकार सम्बन्धि निर्देशिकाले प्रवक्ताको काममा सहयोग गर्न सहायक प्रवक्ताको व्यवस्था गरेको छ भने सहायक सुचना अधिकारीको व्यवस्था गरिएको छैन् ।
 सूचना अधिकारीको व्यवस्था सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ६ मा गरिएको छ भने प्रवक्ताको व्यवस्था सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को ३५ मा गरिएको छ

निष्कर्ष
लोकतन्त्रको संस्थागत विकास गर्न, सार्वजनिक पदाधिकारीहरुलाई नागरिक प्रति उत्तरदायी बनाउन तथा सुशासन प्रवर्द्धन गर्न पारदर्शिता र सूचनाको हकले सघाउ पुर्याउने गर्दछन् । प्रवक्ता र सूचना अधिकारीको व्यवस्थाले पारदर्शिता प्रवर्द्धन गरी सुशासन कायम गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।

२. उत्तराधिकारी योजनाका प्रमुख तत्व एवं पुर्वशर्तहरु के के हुन् ? उत्तराधिकारी योजनाको औचित्यमाथि प्रकाश पार्दै उत्तराधिकारी योजनाका चरण, निजामति सेवा ऐन नियममा यस सम्बन्धी गरिएका व्यवस्था, समस्या एवं समाधानका उपायहरुबारे चर्चा गर्नुहोस् ।
पृष्ठभूमि
 संगठनात्मक जिम्मेवारी र उत्तरदायित्व हस्तान्तरणको क्रमको नियमिततलाई उत्तराधिकारी योजना भनिन्छ ।
 उत्तराधिकारी योजनाले भविष्यको लागि नेतृत्व तयार गराउँदछ ।
 सङ्गठनमा निर्माण भएको ज्ञान, सीप र अनुभव संरक्षण तथा हस्तान्तरण गरेर नै उच्च तहको नेतृत्व विकास गर्न सकिन्छ ।
 उत्तराधिकार योजना भनेको संगठन भित्र महत्वपूर्ण नेतृत्व पदहरू भर्न सक्ने क्षमता भएका आन्तरिक व्यक्तिहरूको पहिचान र विकास गर्ने प्रक्रिया हो जसलेः प्रमुख पदहरूमा नेतृत्वको निरन्तरता सुनिश्चित गर्न र संगठन भित्र ज्ञान, सीप र अनुभवहरू कायम राख्न मद्दत गर्दछ।
 उत्तराधिकार योजना एक दक्ष कार्यबललाई आकर्षित गर्न, विकास गर्न र कायम राख्न संगठनको समग्र प्रतिभा व्यवस्थापन रणनीतिको एक हिस्सा हो।

उत्तराधिकारी योजनाका प्रमुख तत्व
 आवश्यकताको पहिचान
 पदको पहिचान
 उम्मेदवारको पहिचान
 मुल्याङ्कन र छनौट
 उम्मेदवारको विकास र तयारी
 उम्मेदवारको छनौट
 वैकल्पिक व्यवस्था

उत्तराधिकारी योजनाका प्रमुख पुर्वशर्तहरु
 कर्मचारी प्रशासनमा नेतृत्वदायी भूमिका खेल्ने मन्त्रालयको सशक्तिकरण
 प्रत्येक व्यवस्थापकीय पदको कार्यविवरण तयारी
 भरपर्दो मानव साधन सूचना प्रणाली स्थापना
 प्रत्येक व्यवस्थापनको वैयक्तिक सिकाइ र तालिम विवरण
 कर्मचारी मुल्याङ्कन प्रणाली
 कर्मचारी प्रोत्साहन प्रणाली
 प्रभावकारी व्यवस्थापन परिक्षण
 विशिष्टिकृत तालिम निकायहरुविच कार्यात्मक सहसम्बन्ध स्थापना

उत्तराधिकारी योजनाको औचित्य
 संगठनको अविछिन्नता अनुकूल संगठनमा काम गर्ने पदाधिकारीहरुको पनि अविछिन्नता कायम गर्न
 संस्थागत सम्झनालाई जिवन्तता प्रदान गर्न
 संगठनात्मक जिम्मेवारी र उत्तरदायित्वको हस्तान्तरण गर्न
 उच्च नेतृत्वको कार्यसम्पादन ज्ञान, सीप, दक्षता र कौशललाई संगठनभित्र पुस्तादर पुस्ता हस्तान्तरण गर्न
 खास पदका लागि आवश्यक क्षमता विकास गर्न सीप हस्तान्तरण गर्न
 सांगठनिक सिकाइ संस्थागत गर्न
 नीति क्षमता प्रवर्द्धन गर्न

 संगठनात्मक लक्ष्य हासिल गर्न
 व्यस्थापकीय जोखिम र जटिलनतालाई न्युनिकरण गर्न
 पदसोपानको तल्लो तहमा रहेका पदाधिकारीहरुको चयन लगन र खटन गर्न
 व्यवस्थापनलाई कार्यप्रेरित सजग, अग्रसर गराउन
 जटिलता सम्बोधनका लागि आवश्यक व्यवहारिक ज्ञान र कौशलता प्रदान गर्न
उत्तराधिकारी योजनाका चरणहरु
 संगठन प्रमुखको अपेक्षा र प्राथमिकता स्पष्टता
 कार्यसम्पादन गर्न आवश्यक ज्ञान, सीप, नियत र गुणको निर्धारण
 उपयुक्त मुल्याङ्कन पद्धतिको विकास
 वस्तुगत कार्यसम्पादन व्यवस्थापन प्रणालीको कार्यान्वयन

 भविष्यपरक आवश्यकताको आधारमा कर्मचारीको विकास
 व्यक्तिगत विकास कार्ययोजना स्वीकृत गरी कार्यान्वयन
 आन्तरिक व्यक्तिगत क्षमता विकासका सुविधाको व्यवस्था
 कर्मचारीहरुको प्रतिस्पर्धी क्षमताको विकास
 तहगत संगठनात्मक उत्तरदायित्व स्पष्टता
 नतिजा प्रतिफलको नियमित मुल्याङ्कन
 नेतृत्व विकास कार्यक्रमको कार्यान्वयन

निजामति सेवा ऐन नियममा गरिएका व्यवस्था
 सचिव पदलाई विषयगत ज्ञान दक्षता र विशिष्ठताका आधारा (प्रशासन, कानून, इन्जिनियरिङ, कृषि-बन, लेखा परीक्षण, स्वास्थ्य, जस्ता विभिन्न कल्ष्टरमा विभाजन ।
 स्वीकृत काम, कर्तव्य र जिम्मेवारीका दृष्टिकोणले एकै श्रेणी भित्र रहेका पदहरुमा पनि तहगत भिन्नता रहको
 कार्य सम्पादन मूल्याङकन, माथिल्लो पदमा जाने मुख्य आधारको रुपमा रहेको ।
 सचिव पदमा बढुवाको निमित्त नेतृत्व मूल्याङन समेत समावेश रहेको ।
 सचिव पद रिक्त भएको १५ दिन भित्र उपयुक्त उमेदवार सिफारिश गरि सक्नु पर्ने व्यवस्था रहेको ।
 प्रमुख पद रिक्त रहेको वा कुनै कारणबाट खाली हुन आएको अवस्थामा कार्यालय/निकायको जेष्ठ कर्मचारी स्वतः निमित्त प्रमुखको रुपमा कार्य सम्पादन गर्ने प्रावधान रहेको ।
उत्तराधिकारी योजना कार्यान्वयनका समस्याहरु
 कार्यसम्पादन मूल्याङकनले वास्तविक कार्यको (आधार, स्तर, क्षमता र वास्तविक कार्यको) प्रतिनिधित्व गर्न सक्ने अवस्था नरहेको
 केन्द्र, जिल्ला र स्थानीय अनुभव हासिल गर्ने सम-अवसरको अभाव रहेको
 सरुवा र पदस्थापनामा, योग्यता भन्दा अन्य प्रणाली हावी रहेको
 वृत्ति विकासलाई प्रभाव पार्ने गरी छिटो छिटो कानून परिवर्तनले उत्तराधिकारमा फरक पार्ने गरेको
 कतिपय सेवाका खास पदहरु समूहकृत नहुँदा सेवा भित्रका जो सुकै पनि बढुवा हुन सक्ने अवस्थाको विद्यमानता रहेको
 स्टाफ कलेजले दिने Senior Executive Development Program -SEDP तालिम उच्च नेतृत्व विकास भन्दा बढुवाका लागि मात्र प्रयोगमा आएको

समाधानका उपायहरु
 जनशक्ती बिकास योजना लागु गरिनु पर्ने
 नेपालको निजामती सेवामा पनि चरणबद्ध रुपमा उत्तराधिकार योजना (Succession Planning) आरम्भ गरिनु पर्ने ।
 निजामती सेवा ऐनले बिशिष्ट र प्रथम श्रेणीको बिभागीय प्रमुख पदमा बरबुझारथको लागि नयाँ पदस्थापना हुनेलाई १५ दिन सगै राख्ने व्यवस्था गरेकोमा यसलाई उत्तराधिकार योजनाकै संभागको रुपमा विकास गर्ने ।

 निजामती सेवामा Leadership Development Programme संचालन गर्ने
 मन्त्रालयगत रुपमा र केन्द्रीय स्तरको Management Inventory खडा गर्ने
 कार्य सम्पादन व्यबस्थापन (Performance Mgt.) मा ठोस सुधार गर्ने
 Succession Planning को महत्व र कार्यान्वयन प्रक्रियाका सम्बन्धमा प्रशिक्षणको माध्यमबाट माथिल्लो तहमा जागरुकता पैदा गर्ने
 उत्तराधिकार योजना कार्यान्वयमा सरकारको कुनै एउटा निकाय (सामान्य प्रशासन मन्त्रालय) लाई आबश्यक अधिकार सहित जिम्मेवार तुल्याउने ।
 पद बर्गीकरण योजना पुन सुचारु गर्ने,

 निकायगत जनशक्ती बिकास योजना तयारी, (जनलाई शक्तिमा रुपान्तरण) बृत्ति बिकास योजना तयार गरी लागू गर्ने
 नेतृत्व बिकास कार्यकम लागू गर्ने,
 बढुवा सम्बन्धी बिधि र कार्य सम्पादन मूल्याङ्कन व्यबस्थित गर्ने
 विषयमा सुधार गर्ने,
 कार्य बिबरण लागु गर्ने,
 बैयक्तिक बिवरण दुरुस्त राख्ने,
 मन्त्रालयगत कर्मचारी प्रशासन (Ministerial Career) को संभाव्यता अध्ययन गर्ने ।

निष्कर्ष
व्यवस्थापकीय नेतृत्व गर्न, व्यवस्थापन सीप हस्तान्तरण गर्न, समग्र निजामति सेवाको कार्यसम्पादन र क्षमता विकास गर्न, अग्रसरता विकास र परिवर्तन समायोजन गर्न, वृत्ति विकासको पुर्वानुमानयोग्यता र संस्थागत सम्झना कायम गर्न समेत उत्तराधिकारी योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

३. दर्जामुलक निजामती सेवाका सबल र दुर्बल पक्षहरु केलाउदै यी पदमुलक र दर्जामुलक निजामती सेवा विचको भिन्नता स्पष्ट पार्नुहोस् ।
पृष्ठभूमि

(क) पदमुलक निजामती सेवा
 पदले गर्नुपर्ने कार्यलाई आधार मानेर कर्मचारीको पद वर्गीकरण गरिने निजामति सेवालाई पदमुलक निजामति सेवा भनिन्छ ।
 कर्मचारीको दर्जा र उसले पाउने तलब, भत्ता तथा अन्य सुविधा कार्यसम्पादनमा आधारित हुन्छ भने यसलाई कार्यमुलक निजामती सेवा पनि भनिन्छ ।
(ख) दर्जामुलक निजामती सेवा
 दर्जाको आधारमा कर्मचारीको पद वर्गीकरण गरिने निजामती सेवालाई दर्जामुलक निजामती सेवा भनिन्छ ।
 यस्तो प्रकृतिको निजामती सेवामा कर्मचारीलाई उसले पाउने दर्जाको आधारमा पहिचान गरिन्छ र तलब, भत्ता तथा अन्य सुविधा पनि कर्मचारीको दर्जा वा उसको श्रेणीको आधारमा निर्धारण हुन्छ ।

दर्जामुलक निजामती सेवाका सबल पक्षहरु
 कर्मचारीको नियुक्ति पदस्थापना सरुवा तथा बढुवा कुनै खास पदमा हुने
 दर्जाका आधारमा भूमिका, अधिकार, जिम्मेवारी तथा तलब सुविधा उपलब्ध गराइने
 कर्मचारीहरुको व्यवस्थापन गर्न सहज हुने
 कार्यको सुरक्षा बढाउन सकिने
 सेवा व्यवस्थापन लचकदार हुने
 वृति विकास दर्जाका आधारमा हुने
 पद र कार्यभन्दा सेवाप्रति लगाव हुने
 समान कार्य र समान तलब सिद्धान्त अवलम्बन गर्न सहज हुने

दर्जामुलक निजामती सेवाका दुर्बल पक्षहरु
 व्यक्ति केन्द्रित हुने
 कार्यसम्पादन र प्रोत्साहनमा कठिनाइ हुने
 कार्य विश्लेषण गौण मानिने
 पदीय अहंकार रहने
 माथिल्लो दर्जा ज्ञान सीप र क्षमतामा पनि माथि नै मानिने
 वृत्ति विकास र कार्यक्षमताविच कमजोर आवद्धता हुने
 विशेषज्ञता हासिल नहुने

पदमुलक र दर्जामुलक निजामती सेवाविचको भिन्नता
 पदमुलक व्यवस्थामा सेवा प्रवेशका लागि विशेष योग्यता आवश्यक पर्दछ भने दर्जामुलकमा सामान्य प्रकारको योग्यता भए पुग्दछ ।
 पदमुलक व्यवस्थामा सुविधा र जिम्मेवारी काम र उत्पादकत्वको आधारमा हुन्छ भने दर्जामुलकमा सुविधा र जिम्मेवारी पदेन हुने गर्दछन् ।
 पदमुलक व्यवस्थामा वृत्ति प्रणाली खुला हुन्छ भने दर्जामुलक व्यवस्थामा बन्द वृत्ति प्रणालीमा जोड दिइन्छ ।
 पदमुलक व्यवस्था अधिकतम कार्यसम्पादनमुलक हुन्छ भने दर्जामुलक व्यवस्था सुरक्षात्मक र उत्पादनमुलक हुन्छ ।

 पदमुलक व्यवस्थामा काम कर्तब्य र पद एक अर्कासँग सम्बन्धित हुन्छन् भने दर्जामुलक व्यवस्थामा समूहभित्रको गतिशिलताले पेशागत विकासमा वाधा पुग्दछ ।
 पदुमलक व्यवस्थाको उद्देश्य प्रणालीमा विज्ञता भित्र्याउने हो भने दर्जामुलक व्यवस्थाको उद्देश्य सामान्य उद्देश्यहरु पुरा गर्ने हो ।
 पदमुलक व्यवस्थामा कार्यस्तरका आधारमा ग्रेडको तह निर्धारण गरिन्छ भने दर्जामुलक प्रणालीमा जेष्ठताका आधारमा ग्रेडको तह निर्धारण गरिन्छ ।
 पदमुलक व्यवस्थामा पदोन्नति प्रतिस्पर्धात्मक हुन्छ भने दर्जामुलकमा सुपरीवेक्षकको मुल्याङ्कनबाट पदोन्नति गर्ने विधि अपनाइन्छ ।
 पदमुलक व्यवस्थामा कर्मचारीहरु विशेषीकृत समूहका ज्ञाता हुने हुँदा सरुवा प्रणाली व्यवस्थित हुने गर्दछ दर्जामुलक व्यवस्थामा कर्मचारीहरुको सहजै सरुवा हुने गर्दछ ।

निष्कर्ष
काम र विज्ञता अनुसार कर्मचारीहरुको नियुक्ति गर्ने कि सामान्य योग्यताका आधारमा कर्मचारी भर्ना गरी उनीहरुको व्यवस्थापन गर्ने र जिम्मेवारी दिने भन्ने वहस सिर्जना गरी निजामति सेवामा नयाँ रक्तसञ्चार गराउन सक्नुपर्दछ ।

२०८३ जेष्ठ ९, शनिबार २०:४२ प्रकाशित
ट्रेन्डिङ समाचार